चितवन विशेष
वडाध्यक्षले ५ लाख घुस खाएको भन्दै भरतपुर–२५ का चार वडा सदस्यले राजीनामा मागे
चितवन,असार २२-
भरतपुर महानगरपालिका २५ का वडाका अध्यक्ष विजयकुमार भुजेलविरूद्ध आफ्नै वडाका चार जना सदस्यहरुले राजीनामा माग गरेका छन् । अध्यक्ष भुजेलले सेवाग्राहीबाट आर्थिक लाभ लिएको उनीहरुको आरोप छ । आमाछोराबीचको अंशबन्डाको विवाद मिलाउन पाँच लाख रूपैयाँ रकम खाएको वडा सदस्यहरुले आरोप लगाएका छन् ।
वडा सदस्यहरु कमलबहादुर गोदार, पार्वती विक, गौरी जमरकट्टेल र युवराज महतोले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष भुजेलले काम गरिदिएबापत पाँच लाख रूपैयाँ लिएको दाबी गरेका छन । भरतपुर–२५, शुक्रनगरका लीलाराज महतो र आशा चौधरीबीच अंशबन्डाको लेनदेनमा वडा अध्यक्ष भुजेलले मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।
अध्यक्ष भुजेलले भने राजनीतिक रिसइबीका कारण वडा सदस्यहरुले नै आफ्नो विरोध गरेको बताएका छन् । उनीमाथि स्वयम् आशा चौधरीले पाँच लाख रूपैयाँ रकम लिएको आरोप लगाएपछि अध्यक्ष भुजेलले सोमबार भरतपुरमा पत्रकार सम्मेलन नै गरेर उक्त आरोप निराधार भएको स्पष्ट पारेका थिए ।