Breaking News
अदालतमा सांसद विघटनको मुद्दा अन्तिम चरणमा पुग्दा आयोगद्वारा निर्वाचनको कार्यतालिका तयार

काठमाडौं, असार २०
निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ ।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको हो ।
अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने जानकारी दिए ।
जसअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्न दिइनेछ । उनकाअनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ । ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने प्रारम्भिक तयारी छ ।
जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो ।
त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । त्यही बेला आयोगले भने निर्वाचन कार्यक्रम तय गरेको हो ।
























