Breaking News
काठमाडौंमा भारतीय नागरिकको हत्या

काठमाडौं, असार २०
ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो । झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर हम्मर प्रहार गरेको हुनसक्ने देखिएको उनले बताइन् ।
घरका केही सामान पनि हराएकाले चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको उनको भनाइ छ ।
आज आइतबार १० बजे थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटना शुक्रबार रातिकै हुन सक्ने एसएसपीले बताइन् ।
पारिक इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित पसलमा मार्केटिङको काम गर्थे । उनी २० वर्षदेखि नेपालमा बसिरहेका छन् । १२ वर्षदेखि घटना भएको घरको माथिल्लो तलामा बसिरहेका थिए । पछिल्लो समय उनी घरमा एक्लै थिए ।
घटनाबारे अनुसन्धान भइरहेको एसएसपी बज्राचार्यले बताइन् ।


























