Breaking News
ओलीनिकट तिन नेता पुगे माधव नेपाल निवास, ओलीलाई भेटेरै छलफल गर्न नेपाललाई अनुरोध
काठमाडौं, असार २० –
आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । ओलीनिकट नेताहरू आज बिहान नेता नेपालको निवास कोटेश्वर पुगेर उनीसँग छलफल गरेका हुन्।
ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल कोटेश्वर पुगेका थिए । नेपाल समूहका नेता घनश्याम भुसाल पनि उक्त छलफलमा सहभागी भएका थिए ।
भेटका क्रममा ओली समूहका नेताहरूले नेपाललाई अध्यक्ष ओलीसँग भेटघाट गरी छलफल गर्न आग्रह गरे । ‘हामीले तपाईंहरू भेट्नुस्, कुरा गर्नुस् भन्यौं। उहाँले ठिक छ तपाईंहरू पनि अनौपचारिक रूपमा लागिरहनु भएको छ। हामी पनि भेटेर कुरा गरौंला भन्नुभयो,’ भेटमा सहभागी एमाले नेता सुवास नेम्वाङले भने।
शनिबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला आउन्जेल ती हस्ताक्षर फिर्ता नलिनेहरू एमाले हुन नसक्ने बताएका थिए। नेपाल पक्षले भने ती हस्ताक्षर फिर्ता नलिने अडान गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै हालेको मुद्दामा हस्ताक्षर गरेका एमाले सांसदहरूको हस्ताक्षर फिर्ता हुनुपर्ने बताईरहेका छन् ।
























