चितवन विशेष

चितवनमा ६० प्रतिशत सकियो धान रोप्ने काम

Banner

चितवन, असार १४-

छिटो मनसुन सुरु भएको कारण चितवन जिल्लामा ६० प्रतिशत धान रोपिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार यस वर्ष पानी छिटो परेको भएर धान रोपाइ धेरै स्थानमा भएको छ । जिल्लाको कुल क्षेत्रफलको ४६ हजार ८९७ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४४ हजार २९१ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ । खेतीयोग्य जमीनको ७२ प्रतिशत क्षेत्रफलमा सिँचाई सुविधा पुगेको भए पनि २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिनुभयो ।

मनसुन समयमा भएको कारण यस वर्ष धान खेतीको क्षेत्रफल बढ्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार तीन वर्ष अगाडि जिल्लामा २९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । भूखण्डीकरण, अन्य खेतीमा आकर्षणलगायतको कराणले धान खेतीको क्षेत्रफल घटेको प्रमुख ढकालले बताउनुभयो ।

नेपालमा सूचित गरिएका १३० जातका धानमध्ये चितवनमा सावित्री, सावा मन्सुली, सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, चैते ५, बहुगुणी १, बहुगुणी २ लगायतका धानहरु लगाउने गरिन्छ ।

चितवनका किसानहरु करिब ४० प्रतिशत क्षेत्रफलमा हर्दिनाथ तथा त्यति नै संख्यामा पिआर धान लगाउने गरेका ढकालको भनाइ छ । यस वर्ष करिब पाँच हजार ६९५ किलो सूचिकरणमा नरहेको गोरखनाथ धानको बिउ बरामद गरेर नष्ट गरिएको भन्दै ढकालले उक्त बिउ बिक्री वितरण गर्ने पाँच जना व्यवसायीलाई कारबाही गरिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>