Breaking News

निषेधाज्ञालाई अझै खुकुलोः अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर

Banner

काठमाडौं,असार १४-

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताए ।

निषेधाज्ञा थप खुकुलो बनाइँदै

‘निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने । निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमबार बस्ने बैठकले टुंगो लगाउने उनले जानकारी दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार यसरी सीमा तोक्दा साना सवारी साधनभन्दा ठूला र दूरी कायम हुन सक्ने सवारी साधन सञ्चालन हुन सक्नेछन् । तर, सो विषय छलफल पछि मात्रै टुंगो लाग्ने उनले जनाएका छन् ।

यसैगरी, पसल तथा व्यवसाय सञ्चालनका लागि पनि बारअनुसार भन्दा समय निर्धारण गरेर सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । यसरी समय निर्धारण गर्दा कुन र कस्ता पसल कुन समयमा खोल्न पाइने भन्ने तोकिनेछ ।

यस्तै, राजनीतिक कार्यक्रम, सभा सम्मेलन, विवाह, व्रतबन्ध, सभा तथा जुलुसजस्ता कार्यक्रम भने अझै केही समय सञ्चालनमा रोक लगाइने तयारी भइरहेको छ । उपत्यकामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै गत १६ वैशाखबाट निषेधाज्ञा कायम रहँदै आइरहेको छ । यसअघि भने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ८ असारबाट निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउँदै निजी यातायातमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।

सोही निर्णयका आधारमा उपत्यकाका तीनवटै जिल्लामा बारका आधारमा पसल व्यवसाय सञ्चालन हुँदै आइरहेको छ । यसरी सञ्चालन गरिने पसल व्यवसायका लागि प्रशासनले समयसमेत निर्धारण गरिदिएको छ । राजधानी दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>