चितवन विशेष
कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दैै सकियो भरतपुरमा रात्रिकालिन खाना अभियान

चितवन, असार १२ –
चितवनस्थित भरतपुरका ६ जना युवाले सुरु गरेको “बचौं र बचाऔं–एक आशाको किरण” अभियान सकिएको छ । शनिबार युवाहरुले भरतपुरको चौबिसकोठीमा कोरोना बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्जवलन गरेर अभियानलाई औपचारिक रुपमा सम्पन्न गरेका हुन् ।
उक्त अभियानले चितवनको अस्पतालमा बिरामी कुरुवाहरुलाई बेलुकाको खाना खुवाँउदै आएको थियो । ७ हजार ५ सय जना बिरामी कुरुवालाई खाना खुवाएपछि युवाहरुले उक्त अभियान बन्द गरिएको अभियान्ता शिरिष पन्तले जानकारी दिए ।
पेशागत ६ युवाहरु शिरिष पन्त, मनोज बर्नवाल, प्रवास रोय, वासुदेव दवाडी, डा. विकास शाह र अमर घिमिरेको सहयोगमा बिरामी कुरुवाहरुलाई निःशुल्क खाना खुवाईएको थियो ।
युवाहरुले गत जेठ १२ गतेबाट अभियान शुरु गरेका थिए । भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज लगायतका अस्पतालमा बिरामी कुर्न आएकाहरुलाई बेलुकाको खाना खुवाउँदै आएको युवा व्यवसायी पन्तले बताए । ‘उपचार गराउन आएका बिरामीका आफन्तहरुलाई खाना खानै समस्या देखिएपछि यो अभियान थालेका थियौँ, हाम्रो अभियानले धेरै कुुरुवाहरुलाई सहज बनायो’–युवा पन्तले भने ।
अभियानमा जोडिएका युवा एवंम पुरानो मेडिकल कलेजमा अन्तिम वर्ष अध्ययनरत प्रवास रोयले भने,‘रातको समयमा निषेधाज्ञा भएकोले पसलहरु चाडैं नै बन्द हुने गथ्र्यो । त्यही समस्यालाई देखेर अस्पतालका बिरामी कुरुवाहरुलाई बेलुकाको खानाको व्यवस्था गरेको हौं ।’
उनीहरुले बिरामी कुरुवासाथै स्वास्थ्यकर्मीहरुलाई पनि निःशुल्क रात्रीकालिन खाना वितरण गर्दै आएका थिए । रात्रीकालिन खाना अभियानको लागि ७ लाख २ हजार रुपैयाँ खर्च भएको उनीहरुले बताएका छन् । युवाहरुले खाना अभियानसंगै खाद्यान्न सामग्री वितरण र खुल्ला रक्तदान कार्यक्रम पनि गरेका थिए । उक्त अभियानलाई नारायणगढ जेसिज, चितवन अटोमोबाईल्स डिलर्स एसोसिएसन, समाज कल्याण सहकारी संस्था र नेपाल मेटल ईञ्जिनियरिङ फेब्रिक उद्योग समितिले सहयोग गरेको थियो ।




























