समाज
यौनसम्पर्क अस्वीकार गर्दा सन्तोषी सुब्बाको हत्या

काठमाडौँ,असार ११ –
यौनसम्पर्क अस्वीकार गर्दा कालोपुलकी सन्तोषी सुब्बाको हत्या भएको खुलेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्दै आएका सुरेश तिमल्सिनाले हत्या गरेको अनुसन्धानबाट खुलेको हो । आरोपित तिमल्सिनाले प्रहरीलाई दिएको बयानमा आफू रक्सीको नशामा रहेको र यौनसम्पर्क गर्न नमानेपछि सलले बेरेर हत्या गरेको स्विकारेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
काभ्रेका धर्मबहादुर तामाङसँग करिब १८ वर्षदेखि धर्मछोरीका रूपमा बस्दै आएकी सुब्बा असार ३ गते कालोपुलस्थित कोठाबाट निस्केकी थिइन् । त्यस दिन कीर्तिपुरमा बस्छु भनेर सुब्बाले बाबुलाई बताएकी थिइन् । पशुपन्छीको आवाज दुरुस्त नक्कल गर्ने क्षमता भएका कारण उनी चर्चित थिइन् । कीर्तिपुरबाट असार ४ गते उनी दक्षिणकाली गएकी थिइन् । तर, त्यसबारे बाबुलाई उनले खबर गरिनन् । ५ गते सुब्बालाई स्थानीयले बजार आसपास हिँडेको देखेको बताएका थिए । ६ गते एउटा होटलमा रक्सी पिएर बसेका तिमल्सिनासँग सुब्बाको भेट भयो । तिमल्सिना सार्वजनिक यातायातका सहचालक हुन् ।
‘म भोकै छु, केही खानेकुरा दिनुस् न भनेर उनी म भएको ठाउँमा आइन्, मैले रक्सी पिएँ, उनले चिया–खाजा खाइन्,’ आरोपित तिमल्सिनाले प्रहरीसमक्ष भनेका छन्, ‘त्यस क्रममा चराचुरुंगी र पशुको आवाज पनि उनले सुनाइन्, साँझपख एकान्तमा गएर शारीरिक सम्पर्क गर्न मैले कर गरेँ, त्यसपछि दक्षिणकाली मन्दिरनजिकै पिकनिक स्थल छेउको एक शौचालयमा यौनसम्पर्क गर्न खोजेपछि उनले नमान्दा हत्या गरेँ ।’

























