चितवन विशेष
भरतपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

भरतपुर,असार ४-
कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले भरतपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।
जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो । अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा डा. अधिकारीले स्कटल्यान्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए । सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना सङ्क्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने उनले बताए ।
उक्त कार्यक्रममा कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्याल, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रोशन न्यौपानेले मन्तव्य दिएका थिए ।
कोभिड–१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन, स्कट स्पोर्टस् क्लब, ग्लास्गो नेपाली एसोसिएसन, दियो क्लब युके , नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्टस् एण्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज कम्युनिटी , नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेप्लिज एसोसिएसन, जिएस आर्टस् एण्ड कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड, नेप्लिज युथ स्कटल्याण्डको संलग्नता रहेको छ ।अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्याण्डमा रहेका नेपालीहरूबाट व्यक्तिगतरूपमा सहयोग समेत प्राप्त भएको थियो।

























