Breaking News
शुक्रबार विश्वासको मत लिर्दै गण्डकीका मुख्यमन्त्री नेपाली

पोखरा, असार २ –
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिने प्रस्ताव बुधबार संसद सचिवालयमा दर्ता गरेका हुन् ।
नेपालीले दर्ता गरेको प्रस्ताव शुक्रबारको संसद बैठकको कार्यसूचीमा राख्ने निर्णय भएको संसद सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । गत शनिबारमात्रै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सोही दिन मुख्यमन्त्री नेपालीले ४ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
सरकार गठन भएको एक हप्ता नपुग्दै मुख्यमन्त्रीले विश्वासको मत लिने भएका हुन्। चार दलीय गठबन्धन र एक स्वतन्त्र सांसदको समर्थनमा नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


























