Breaking News
सबै मन्त्रालयलाई परिचालित: बाढी-पहिरो प्रभावित क्षेत्रका कामलाई प्रभावकारी बनाउने निर्णय

काठमाडौं, असार १ –
सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको छ । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उनले बताएका हुन्।
पोखरेलले भने, ‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको छ, । ’
बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी-पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।


























