Breaking News
वर्षात्को क्षति रोक्न पूर्वतयारीको लागि एमाले चितवनको ध्यानाकर्षण

चितवन,जेठ ३१-
नेकपा एमाले चितवनले मनसुनको सुरुआतसँगै हुनसक्ने प्राकृतिक प्रकोप र विपद् न्यूनिकरणका लागि पूर्व तयारी गर्न जिल्लास्थित प्रकोप व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले चितवनको आज बसेको भर्चुअल बैकले मनसुनको समय सुरु भएको र यस वर्षको मनसुनमा अघिल्ला वर्षहरुमा भन्दा भारी वर्षा हुनसक्ने भन्दै मौसमविद्हरुले प्रक्षेपण गरेकोले संभावित जोखिम न्यूनिकरणको लागि पूर्वतयारीमा जुट्न ध्यानाकर्षण गराएको हो ।
बैठकबारे जानकारी दिँदै अध्यक्ष पार्वती रावलले भनिन्, ‘वर्षात्ले ल्याउन सक्ने जोखिम घटाउन हामीले जिल्ला स्थित प्रकोप व्यवस्थापन संयन्त्रलाई चुस्त रहन आग्रह गर्ने निर्णय गरेका हौं ।’ साथै अध्यक्ष रावलले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई पनि सचेत रहन आग्रह गरेकी छिन् ।
त्यस्तै बैठकले कोभिड १९ महामारीमा जिल्ला स्थित कोभिड उपचारका क्रममा निजी अस्पतालहरुले चर्को शुल्क लिँदै आएको गुनासाहरु पनि आइरहेकोले त्यस्ता अस्पतालाहरुलाई चर्को शुल्क नलिन समेत आग्रह गर्ने निर्णय गरेको छ । कोभिड महामारी संक्रमण नियन्त्रणमा जुट्न आफ्ना कार्यकर्तालाई पनि निर्देशन दिँदै बैठकले जिल्ला स्थित अस्पतालाहरुलाई चर्को शुल्क नलिन अनुरोध पनि गरेको हो ।
भर्चुअल माध्यमबाट भएको बैठकले स्थानीय तहरुले ल्याउन लागेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनमुखी बनाइ स्थानीय आवश्यकता तथा माग समेट्न आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
नेकपा एमाले महाधिवेशन आयोजक कमिटी चितवनका अध्यक्ष पार्वती रावलको अध्यक्षतामा भएको बैठकमा नेकपा एमालेका बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष आनन्द पोखरेल, एमाले नेता कृष्णभक्त पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
बैठकले पार्टीको सांगठनिक क्रियाकलाप गतिशिल बनाउन तथा सदस्यता नविकरण, वितरणको काम चुस्त बनाउन समेत सांठनिक जिम्मेवारीमा रहेका कार्यकर्तालाई निर्देशन दिएको अध्यक्ष रावलले जानकारी दिइन् ।

























