Breaking News
मन्त्रिपरिषद समावेशी हुनुपर्छ भन्दै मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र

काठमाडौँ, जेठ ३० –
प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मन्त्रिपरिषद पुनर्गठनबारे असन्तुष्टि जनाएका छन् । अहिराजले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्रीसमक्ष असन्तुष्टि जनाएका हुन् ।
उनले मन्त्रिपरिषद गठन समावेशी नभएको उल्लेख गर्दै संविधान अनुसार समावेशी गर्न मुख्यमन्त्रीलाई पत्राचार गर्दै स्मरण गराएका हुन्। जेठ २८ मा प्रदेश प्रमुख अहिराजले मुख्यमन्त्रीलाई लेखेको पत्रमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने कुरा उल्लेख रहेको छ ।
‘प्रदेश सभा समानुपातिक समावेशी रहेकोमा उक्त सभाका सदस्यबाट मन्त्रिपरिषदको सदस्य नियुक्त गर्दा उक्त समानुपातिक समावेशी स्वरूप प्रतिबिम्वित हुनुपर्छ भन्ने तथ्य निर्बिबाद रूपमा स्थापित छ,’ प्रदेश प्रमुख अहिराजले लेखेको पत्रमा भनिएको छ ।
प्रदेश नम्बर २ मा पहाडी मुलका नागरिक पनि उल्लेख्य मात्रामा बसोबास गरेकोमा उल्लेखित जाति, समुदाय र वर्गको अनुहार प्रतिबिम्वित हुनुपर्ने उनले बताएका छन् ।
मन्त्रिपरिषद गठनमा समावेशी सिद्धान्तको अवलम्बन गर्नुपर्ने पनि प्रदेश प्रमुख अहिराजले बताएका हुन् । उनले भने ‘प्रदेश भित्रका महिला, दलित, आदिवासी, जनजाति, गैरमधेशीलगायका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ ।’
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले हालै जसपाकै महन्थ ठाकुर पक्षका मन्त्रीलाई सरकारबाट हटाई नेपाली कांग्रेसबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए ।


























