Breaking News

चितवनको इतिहास,वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन हुने

Banner

चितवन, जेठ २७ –

चितवनको इतिहास, वर्तमान र परिकल्पनाको खाका समेटिएको पुस्तक ‘चितवन दर्पण’प्रकाशन हुने भएको छ । जिल्ला समन्वय समिति चितवनले जिल्लाका सात वटै स्थानीय तह समेटेर विज्ञहरु मार्फत पुस्तक प्रकाशन गर्न लागेको हो ।

चितवनका १० जना विज्ञ लेखकहरुले सो पुस्तकका लागि लेख्नुभएको आज आयोजित भर्चुअल पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । अध्ययन अनुसन्धान तथा पुस्तक लेखनका लागि वागमती प्रदेशका सांसद विजय सुवेदीको संंयोजकत्वमा पुस्तक सम्पादन तथा संयोजन समिति गठन गरिएको छ । मंसिरदेखि लेखन सुरु गरिएको पुस्तकको पहिलो ड्राफ्ट तयार भइसकेको संयोजक सुवेदीले बताउनुभयो । चितवन दर्पणमार्फत जिल्लाको इतिहास, वर्तमान र परिकल्पना प्रस्तुत गरिने उहाँले बताउनुभयो । ‘भविष्यका सन्ततीका लागि ऐना हो, यो एउटा दस्ताबेजको रुपमा रहनेछ’,उहाँले भन्नुभयो । जिल्लाका ऐतिहासिक तथ्य र तस्विरहरु छरपस्ट भएका छन् त्यसलाई एकिकृत गर्ने उदेश्य पुस्तक प्रकाशन मार्फत राखेको उहाँले बताउनुभयो । जिल्लाका ऐतिहासिक तथ्य तथा तस्विरहरु उपलब्ध गराउन सुवेदीले सबैमा आब्हान गर्नुभयो ।

विभिन्न क्षेत्रबाट उपलब्ध भएका तथ्य, तथ्याङ्क र तस्विरहरु स्रोतका साथ प्रकाशन गरिने पुस्तक प्रकाशन तथा संयोजन समितिका सदस्य सचिव डा.विश्वराज सुवेदीले जानकारी दिनुभयो । उहाँले जिल्लाका सातवटै पालिकामा स्थलगत भ्रमण र छलफल गरिसकिएको बताउनुभयो । असार १५ गतेसम्म सम्पादनको काम भइसक्ने उहाँले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले एतिहासिक, धार्मिक, प्राकिृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण चितवनको रुपरेखा पुस्तकमा तयार हुने बताउनुभयो । जिल्लाको भौगोलिक, आर्थिक, सामाजिक तथा पर्यटकीय अवस्थाबारे विज्ञ समूहद्धारा अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यही अवस्थामा आगामी पुस्ताका लागि इतिहास मेटिनसक्ने भएकाले पुस्तक प्रकाशन गर्न लागिएको डल्लाकोटीको भनाइ छ ।
पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवम् पर्यटकीय स्थलहरुका बारेमा जानकारी प्राप्त हुनेछ । पुस्तकमा आवश्यक सामग्रीका लागि सान्दर्भिक लेख, रचना, पुस्तक र पत्रपत्रिका अध्ययन गरिएको छ । सरोकारवालासँग छलफल र अन्तरक्रिया भएको छ भने पुस्तकालय तथा अनुसन्धान केन्द्र, स्थलगत अध्ययन अनुसन्धान र अवलोकनलाई पुस्तक लेखनमा मुख्य आधार बनाइएको छ ।
पुस्तकमा सांसद विजय सुवेदी र ईन्द्रप्रसाद लामिछानेले पूर्वाधार विकास, प्रा.डा देवी प्रसाद कँडेलले इतिहास, डा.राजेन्द्र रेग्मीले राजनीति, रमाकान्त सापकोटाले शिक्षा तथा सामाजिक विकास, डा.विश्वराज सुवेदीले वन पर्यटन तथा पर्यावरण, मुना कुमारी श्रेष्ठले जिससको इतिहास, डीआर पोखरेलले साहित्य संस्कृति, कपिल सुवेदीले आर्थिक विकास, र डा. ईन्द्रविलास घिमिरेले चितवनका सात पालिकाहरुको प्रोफाइल लेख्नुभएको छ । पुस्तक प्रकाशनका लागि जिल्ला समन्वय प्रमुख चुडामणि शर्मा गौतमको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सुकदेव लम्साल र कृष्ण काफ्ले रहनुभएको छ । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीको संयोजकत्वमा सम्पादक सहयोग समिति समेत गठन गरिएको छ । त्यसको सदस्यहरुमा पत्रकार दिपेन्द्र अधिकारी र कृष्ण आचार्य रहनुभएको छ । पुस्तकको भाषा सम्पादकको रुपमा उपप्रध्यापक कृष्णमणि पहारी रहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>