चितवन विशेष
चितवनका पत्रकारलाई खोप उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र

चितवन,जेठ २५-
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई पुनः उपलब्ध गराउन माग गर्दै चितवनमा ज्ञापन पत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले मङ्गलबार यहाँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र स्वास्थ्य कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघको टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै अघिल्लो चरणमा खोप लगाउन छुटेका पत्रकारहरुलाई प्राथमिकता दिएर उपलब्ध गराइदिन आग्रह गरेको छ । महासंघका अध्यक्ष नारायण अधिकारीले ज्ञापनपत्र बुझाउँदै स्वास्थ्यकर्मीसँगै अग्रमोर्चामा जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई प्राथमिकता दिएर खोप लगाउने व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्नुभयो । उहाँले जिल्लामा महासंघका १५० हाराहारी सदस्य खोप लगाउनबाट छुटेको जानकारी दिनुभयो ।
अधिकारीले महासंघको सदस्य नरहेका तर सञ्चारक्षेत्रमा खटिएका अरु थप पत्रकारहरु पनि रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि खोप लगाउने व्यवस्था गरिदिन आग्रह गर्नुभएको छ ।
सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी लामिछानेले पत्रकारहरु उच्च जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको आफूले महसुस गरिरहेको भन्दै आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो चरणमा सम्भव हुने देखिँदैन अर्काे चरणका लागि मैले सम्भव भएसम्म प्रयास गर्छु ।’ उहाँले पत्रकारहरुले पनि खोप उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्न आग्रह गर्नुभयो ।
यसैगरी स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसाद तिवारीलाई पनि महासंघको टोलीले मङ्गलबार नै ज्ञापनपत्र बुझाएको छ । सो अवसरमा तिवारीले माथिल्लो निकायमा यस सम्बन्धी जानकारी गराउने भन्दै आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दुवै कार्यक्रममा महासंघका अध्यक्ष अधिकारीसहित सल्लाहकार तिलक रिमाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्य, महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, कोषाध्यक्ष राजेन्द्र आचार्य सहभागी हुनुहुन्थ्यो ।

























