समाचार
राउटेहरुले भनेः नराम्रा भिडियो खिच्न आउनेहरुले दुःख दिए, प्रहरी पठाइदिनु पर्यो

दैलेख,जेठ २४-
कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लाका वन जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले नराम्रा भिडियो खिच्न आउनेहरुले आफूहरुलाई दुःख दिएको बताएका छन् । सरकारले लोपोन्मुख जातीमा सूचीकृत गरेको फिरन्ते जाति राउटे समुदायका अगुवाहरुले विभिन्न वहानामा भिडियो फोटो खिच्नेहरुले आफूहरुलाई दुःख दिएको बताएका हुन् ।
राउटे समुदायका युवा सोविन शाहीले बाहिरका मान्छेहरु आएर तिम्रा दिदीबहिनीहरु कहाँ छन् भन्दै सोध्ने गरेको बताए। बाहिरका मान्छे बस्तीमा आएर भिडियो खिच्छन्, नराम्रो नराम्रो बोल्न लगाउँछन् त्यो हामीलाई मन पर्दैन ,उनले भने। बस्तीमा राम्रो मान्छेहरु पनि आउने गरेको सोविन बताउँछन् । ‘हामीलाई चामल, दाल, तेल कपडा लिएर सहयोग गर्न आउने मान्छेहरु देखेर खुसी लाग्छ तर, टिकटक बनाउने, नराम्रो बोली बोल्न लगाएर भिडियो खिच्नेहरुले हामीलाई दुःख दिएँ, उनले भने।
सोविनले बाहिरका मान्छेलाई आफूहरुको बस्तीमा आउन बन्देज गरिदिनका लागि प्रहरी पठाइदिन आग्रह समेत गरेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले नचिनेको मान्छेहरु बस्तीमा आएर आफूहरुलाई दुःख दिइरहेको बताए ।

























