Breaking News

कोरोनाको उपचारमा पुरानो मेडिकल कलेजको लुटः एक दिनको वेड चार्ज १९ हजार ५ सय, पहिले पैसा जम्मा नगरे भर्ना नलिने

Banner

मनिका विश्वकर्मा

चितवन, जेठ २३-

चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले कोरोना संक्रमितको उपचारका नाममा लुट मच्चाएको छ । अस्पतालमा आउने कोरोना संक्रमित विरामीहरुलाई अस्पतालले फर्कनेबेला सबै पैसा सकेर रित्तो पठाउने गरेको छ । अस्पतालमा आउने एक संक्रमित विरामीले ५ देखि १० लाख रुपैंया सम्म अस्पतालमा खर्च गरेर जाने गरेका छन ।

पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरका तेडार महतोलाई गत मंगलबार पुरानो मेडिकल कलेज ल्याइयो । महतोलाई कोरोना संक्रमण भएपछि उनलाई कोभिड आइसोलेशनमा भर्ना गर्नुप¥यो । भर्ना गर्नुभन्दा पहिले नै कलेजले परिवारलाई बैंक खातामा ३० हजार रकम जम्मा गर्न लगायो । रकम जम्मा गरेपछि मात्रै महतोलाई कोभिड आइसोलेशनमा भर्ना गरियो । महतोकी श्रीमती सरिताका अनुसार अस्पताललाई वेड चार्ज मात्र दैनिक १९ हजार ५ सय रुपैंया बुझाउनुपर्छ । वेड बाहेकको खर्च आफै तिर्नुपर्छ । उनले तीन दिनमा २१ हजारको औषधि किनिसकेको बताइन । ‘उपचारमा संलग्न स्वास्थ्यकर्मीको पीपीई, ग्लोब्स, मास्कलगायत सामान आफै किनिदिनुपरेको छ’, उनले भनिन् । ‘हामीले आर्थिक अवस्था कमजोर छ केही छुट मिलाइदिनुहोस भनेर गुनासो पोख्यौ । तर एक रुपैंया पनि छुट हुदैन भने’, उनले भनिन् ।

मकवानपुरको मनहरी गाँउपालिकाबाट कोरोना संक्रमित बुवालाई उपचारका लागि ल्याएका हस्तबहादुर मगरले पनि विरामीलाई एक दिन बेडमा राखेको साढे १९ हजार तिर्नुपरेको बताए । उनले बुवालाई भर्ना गर्ने दिनमा नै ५० हजार रकम मेडिकलको बैंक खातामा जम्मा गरेको बताए । पहिले नै पैसा जम्मा नगरे अस्पतालले भर्ना नै नलिने गरेको उनको गुनासो छ ।

तीन दिनमा बुवाको उपचारका लागि ९० हजार खर्च भइसकेको उनले बताए । उनले भने,‘कोरोनाका बिरामीलाई सरकारले निशुल्क खर्च गर्ने भन्ने सुनेको हो । तर अस्पतालहरुले भने लुट मच्चाएका छन ।’ उनले कोरोनाको नाममा भइरहेको मनपरी रोक्न अनुगमन नभएको बताए ।
गोर्खाकी लक्ष्मीमाया आलेलाई सुरुमा रत्ननगर बकुलर अस्पताल लगिएको थियो । निमोनियाको लक्षण देखाएपछि लक्ष्मीका परिवारले कोरोना परीक्षणको लागि भरतपुरको मनकामना अस्पतालमा ल्याए । मनकामना अस्पतालले कोरोना बिरामी उपचार नगर्ने बताएपछि पुरानो मेडिकल कलेजमा ल्याएर भर्ना गरियो । लक्ष्मीलाई भर्ना गर्नुअघि कलेजको बैंक खातामा ५० हजार रकम जम्मा गर्न लगाइयो । उनिहरुलाई कलेजले सुरुमा पैसा जम्मा नगरे विरामीको उपचार नगर्ने बताएको थियो । त्यसपछि विरामीका आफन्त तत्काल पैसा जम्मा गर्न बाध्य भए ।

यस्तै रौतहटका मनोज लोहार पनि आफ्नी आमा लिएर पुरानो मेडिकलमा उपचार गर्न आएका छन । स्थानीय मेडिकलमा स्वास्थ्यकर्मीले ग्याष्ट्रिक बिग्रीएको भन्दै उपचारका लागि चितवन जान सल्लाहा दिए । पुरानो मेडिकल कलेज ल्याएपछि उनलाई अस्पतालको खातामा रकम जम्मा गर्न लगाइयो । ‘आमाको छातीको परीक्षण भएपछि निमोनिया देखिएपछि कोरोनाको नै लक्षण हो भनेर आमाको पिसिआर परिक्षण गर्न लगाइयो,लोहरले भने । आमालाई कोरोना नै भएको भन्दै कोभिड आईसोलेशनमा जबरजस्ती डाक्टरहरुले राख्न लगाए । अस्पतालले भर्ना शुल्क १ हजार र वेडको दैनिक १९ हजार ५ सय गरी साढे २० हजार भनेपछि हामीले आमालाई नराख्ने भनौं । तर उनिहरुले कोरोना नै हुनसक्ने भन्दै आमालाई आईसोलेशन भित्रै राखे, उनले भने । अस्पतालले रिपोर्ट आएपछि मात्रै जान पाउने र वेडको आधा रकम भए पनि तिर्न दवाव दियो । हामी कोरोनाको रिपोर्टको पखाईमा बस्यौं । परीक्षण गरेको १५ घण्टापछि आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनले आमालाई लिएर फर्किएको बताए ।

चितवनमा कोरोना संक्रमितहरुको उपचार गर्न चार अस्पतालसंग नेपाल सरकारले सम्झौता गरेको छ । पुरानो मेडिकल कलेजमा पनि कोरोना बिरामीहरुको उपचारको लागि स्वास्थ्य मन्त्रालयले सम्झौता गरिसकेको मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘सरकारसंग सम्झौता भएको अस्पतालमा कोरोनाका सबै उपचार सरकारले नै व्यहोर्छ । सम्झौता गरेका अस्पतालमा कोरोना उपचारको खर्च सबै सरकारले तिर्ने हो । यसरी कोरोना बिरामीहरुबाट रकम लिन पाइदैन ।’

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सम्झौता भएका अस्पतालमा कोरोना बिरामीहरुको उपचार सबै सरकारले गर्ने बताए । पुरानो मेडिकल कलेजलाई कति निःशुल्क कति शःशुल्क हो भनेर प्रशासनले बिवरण मागिरहेको बताए । स्वास्थ्य मन्त्रालयबाट पनि के–केमा निशुल्क गर्ने केमा निशुल्क नगर्ने भनेर स्पष्ट नभएकाले पनि समस्या भएको पन्तको भनाई छ । पुरानो मेडिकल कलेजले के को आधारमा कोरोना  बिरामीबाट रकम लिएको भन्ने प्रश्नको जवाफ नआएको लामिछानेले बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीको अनुसार कोरोना बिरामीको लागि आईसियुको ७ हजार र भेन्टिलेटरको १५ हजार लाग्नेछ । बिरामीलाई क्याविनमा राख्ने हो भने त्यसरी नै लिन सकिनेछ । सरकारसंग सम्झौता भएका वेडहरुको चाँही निशुल्क हुने तिवारीले बताए ।

पुरानो मेडिकल कलेजका कोभिड १९ इन्चार्ज डा.सुदिप राज केसीले सरकारसंगको सम्झौतामा आफुहरुले २० प्रतिशत वेड मात्र निःशुल्क गर्न सक्ने बताए । अस्पतालको ४५० जनरल वेडमा निःशुल्क ८८ वेड र ६० वेड आइसियूमा १२ वेड निःशुल्क गरेको उनले जानकारी दिए । उनले गरिव र विपन्नहरुलाई पहिचान गरेर सरकारले गरेको निःशुल्क उपचार कार्यान्वयनमा ल्याएको दावी गरे । उनले मेडिकल कलेजले कोरोना संक्रमितको क्रिटिकल केयर उपचारका लागि १९ हजार ५ सय रुपैंयादेखि २२ हजार रुपैंयासम्म लिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>