Breaking News
क्यान्सर अस्पतालको बागवनी फर्मलाई बृहत्तर बागवनी फर्म तथा नर्सरीमा विकास गरिने, कृषि मन्त्रालयसँग सम्झौता
चितवन, जेठ २२
चितवनको क्यान्सर अस्पतालमा रहेको बागवनी फर्मलाई बृहत्तर बागवनी फर्म तथा नर्सरीका रुपमा विकास गरिने भएको छ ।
फर्म तथा नर्सरी विकासका लागि विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा कृषि मन्त्रालयका निर्देशक रविन्द्र प्रधान र अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले हस्ताक्षर गरेका छन् ।
बागमती प्रदेशमा फलफूल खेती विस्तार गर्ने उद्देश्यले करिव ५० बिघामा रहेको यज्ञपुरी फर्मलाई बृहत्तर बागवनी फर्म तथा नर्सरीका रुपमा विकास गर्न लागिएको हो ।
फर्मको विकास र नर्सरीका लागि मन्त्रालयले प्राविधिक र अन्य सहयोग गर्नेछ भने क्यान्सर अस्पतालले त्यसको रेखदेख र व्यवस्थापन गर्नेछ । फर्ममा रहेको जमिनको सदुपयोग गर्दै बगैंचाको संरक्षण र नर्सरी बनाउने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।
‘पूरानो रुख विस्थापन गर्दै नयाँ बिरुवा रोप्ने उद्देश्यले मन्त्रालयसँग सम्झौता गरेका हौं । यसले बागवनी फर्मलाई थप व्यवस्थित बनाउँदै लैजाने छ’ निर्देशक डा गौतमले भने ।
उनले पूराना बिरुवा नासिँदै गएको अवस्थामा यो कार्यक्रम प्रभावकारी हुने बताए । एक वर्षको पाँच लाख बोटबाट फलफूल उत्पादन लिने उद्देश्यका साथ काम गरिने गौतमको भनाइ छ । सो फर्ममा लिचि, आँप, कटहरलगायतका फलफूल लगाइएको छ ।
सम्झौता कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सांसद विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, कृषि सचिव मतिना जोशी बैद्य लगायतको उपस्थिति रहेको थियो ।


























