Breaking News
उपेन्द्र यादव रातारात पुगे जनकपुर, प्रदेश सरकार हेरफेरको तयारी

जनकपुरधाम, जेठ २२
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव प्रदेश-२ मा सत्ता समीकरण परिवर्तन गर्न जनकपुर रातारात पुगेका छन् ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि अर्का उपेन्द्र पक्षले असन्तुष्टि जनाएको छ ।
शुक्रबार महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भए लगत्तै उपेन्द्र यादव प्रदेश(२ मा सत्तासमीकरण परिवर्तन गर्न सक्रिय भएका हुन् । उनले प्रदेशमा पूर्व राजपाका मन्त्रीलाई हटाएर माओवादी केन्द्र र नेपाली कांग्रेसलाई ल्याउन छलफल सुरु गरेको बुझिएको छ ।
तत्कालीन राजपा र संघीय समाजवादी फोरमले प्रदेश(२ मा सरकार बनाएको थियो । पछि दुवै पार्टी एकीकरणपश्चात् जसपा बन्यो । पछिल्लो सयम पुनः पार्टी दुई समूहमा विभाजित भएको छ ।
शुक्रवार यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधीसँग भेट गरेका थिए । निधीले मुख्यमन्त्री दिएपछि मात्र सरकारमा सहभागी हुने बताएका थिए । शुक्रबारै कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतसँग छलफल गरेपछि काँग्रेस प्रदेश सरकारमा सहभागी हुन तयार भएको एक साँसदले बताए ।
केन्द्रमा बनेको गठबन्धन अनुसार उपेन्द्र यादव पक्षले माओवादी केन्द्रलाई पनि प्रदेश सरकारमा ल्याउने छलफल चलाएको छ । माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने बुझिएको छ ।
























