Breaking News

पशुपालनलाई प्रेरित गर्दै चितवनको राप्ती नगरपालिका,५० देखि शतप्रतिशतसम्म अनुदानका कार्यक्रम

Banner

चितवन, जेठ १८-

जिल्लाको विकट पहाडी र समथर भूभाग मिलेर बनेको राप्ती नगरपालिकाले त्यहाँका कृषकलाई पशुपालनमा प्रेरित गराउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । ५० देखि शतप्रतिशतसम्म अनुदानका कार्यक्रम कृषकले प्रत्यक्षरुपमा प्राप्त गरेका हुन् । नगरपालिकाका पशु चिकित्सा शाखा प्रमुख शैलेन्द्र भण्डारीका अनुसार नगरपालिकाले चालु वर्षमा १२१ वटा काउम्याट वितरण गरेको छ । एउटा काउम्याटलाई रु छ हजार ८०० पर्दछ । यसको ५० प्रतिशत नगरपालिकाले व्यहोरेर कृषकसँगको साझेदारीमा वितरण गरिएको हो । नगरपालिकाले पाँच वटा बोयर बोका वितरण गरेको छ । एउटा बोकाका लागि रु ५० हजार नगरपालिकाले व्यहोरेको थियो भने अपुग रकम कृषकले थपेर बोका खरिद गरेका हुन् ।

माछा मासु बिक्री गर्दै आएका व्यवसायीको व्यवसाय सुधारका लागि पाँच वटालाई रु ३० हजारका दरले अनुदान दिएको छ । कृषकलाई घाँस टुक्याउने १६ वटा च्याप कटरका लागि रु २० हजारका दरले अनुदान दिएको छ । भण्डारीका अनुसार ती उपकरण खरिद गर्न प्रतिगोटा रु ४० हजार पर्दछ । घाँस काट्न प्रयोग हुने पाँच वटा ग्रासकटरमा ८० प्रतिशत अनुदान दिएको छ । रु ४० हजारका दरले अनुदान दिईएको हो ।

नगरपालिकाले १२ हजार ८६६ गाई, भैंसी र बाख्रलाई निःशुल्क कृत्रिम गर्भाधान गराएको छ । सिमेन (वीर्य) खरिद गरेर चालु आर्थिक वर्षमा ती पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको हो । नगरपालिकाले गोठ निर्माणका लागि छ वटालाई रु २० हजारका दरले सहयोग गरेको छ । विदेशबाट आएका पशुपालन गर्न चाहनेका लागि नगरपालिकाले पशुपालनमा प्रोत्साहन गरेको छ । राप्ती नगरपालिकामा रहेका छ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई क्रिम सेपेरेटर उपकरण उपलब्ध गराएको छ । जसका लागि एउटाको रु ९० हजार नगरपालिकाले अनुदान दिएको हो ।

राप्तीकै परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध प्रशोधन उद्योगको रुपमा स्तरीकरण गर्न रु २० लाख अनुदान सहयोग गरिंदै छ । संघीय सरकारको सहयोगमा साझेदारी परियोजना अन्तर्गत यो कार्यक्रम गर्न लागिएको हो । नगरपालिकाले ठूला गाई फर्मलाई दूध दुहुने मेसिनन वितरण गर्दैछ । यसै आर्थिक वर्षमा रु एक लाख ५० हजारमा खरिद गरेर केही दिनभित्रै वितरण गर्ने तयारी गरेको भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले यस वर्ष तीन पटक बृहत पशु स्वास्थ्य शिविर गरेर दुई हजार १०० पशु चौपायको स्वास्थ्य परीक्षण गरी आवश्यक प्राविधिक सल्लाह उपलब्ध गराएको छ । जसमा कृषि तथा वन विज्ञान विश्वविद्यालय र नेपाल पोलिटेक्निक इन्स्टिच्यूटका पशु चिकित्सकको सहयोग लिइएको थियो । राप्ती नगरपालिका क्षेत्रमा दैनिक ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

राप्ती नगरपालिका–६ मा रहेको दनाई गाईपालन व्यवसायी फर्मका सञ्चालक नेत्रमणि दनाईले नगरपालिकाले सहयोग दिइरहँदा आफूलाई ऊर्जा मिलेको बताउनुभयो । सानो सहयोग भए पनि यसले कृषकलाई प्रेरणा मिल्ने उहाँको भनाइ छ । दनाइको गाईफर्ममा अहिले एक सयभन्दा बढी गाई रहेका छन् ।

नगरपालिका प्रमुख प्रभा बरालले नगरक्षेत्रमा पशुपालनको विकासका लागि उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । घरधुरी सर्वेक्षण २०७५ अनुसार राप्तीमा १२ हजार ५३१ घरधुरी छन् । जहाँ सात हजार ५६० परिवार पशुपालनमा आश्रित छन् । यो कूल घरधुरी संख्याको ६०.३३ प्रतिशत हो । राप्तीको जनसंख्या ८४ हजार ८२० रहेको छ । बरालका अनुसार राप्ती नगरपालिका–१०, ११, १२, १३ सँगै वडा नं. १ को परेवाकोट र ३ को धमिले पहाडमा पर्दछ भने अन्य भूभाग तराईमा पर्दछन् ।

उहाँका अनुसार माथिल्लो भागमा बाख्रा र तल्लो क्षेत्रमा गाईभैंसीका लागि उपयुक्त हुन्छ । उहाँले भन्नुभयो “आधाभन्दा बढी जनसंख्या कृषि र पशुपालनमा आश्रित भएकाले हाम्रो ध्यान यसमा बढी केन्द्रीत छ ।” आन्तरिक श्रोतसँगै प्रदेश र संघीय सरकारसँग समन्वय गरी आवश्यक बजेट पशुपालनमा लगानी गरिंदै आएको बरालले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>