Breaking News

वागमती प्रदेश सरकारद्वारा मदन भण्डारी फाउण्डेसनलाई दिएको ५० लाख सहयोग फिर्ता

Banner

हेटौंडा, जेठ १७-

माओवादी केन्द्रको विरोधले गर्दा वागमती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई दिएको सहयोग रकम फिर्ता गरेको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउण्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले फाउण्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक अवरुद्ध गरेको भन्दै रकम फिर्ता लिने निर्णय गरेको पौडेलले बताएका हुन् ।

‘मदन भण्डारी फाउण्डेसनलाई दिएको सहयोग रकमबारे माओवादी केन्द्रले आपत्ति जनाउँदै प्रदेशसभा अवरुद्ध गर्दा ध्यानाकर्षण भएको छ,’ पौडेलले भने, ‘यसर्थ फाउण्डेसनलाई दिइएको रकम ५० लाख फिर्ता गरिएको छ ।’

प्रदेश सरकारले सबै प्रतिष्ठानहरूलाई उपलब्ध गराउँदै आएको सहयोग रकम रोक्ने संकेत गरेको छ । मुख्यमन्त्री पौडेलले आगामी वर्षका लागि वीपी स्मृति प्रतिष्ठान, जीपी स्मृति प्रतिष्ठानलगायतका थुप्रै प्रतिष्ठानले सहयोगको लागि निवेदन दिएकोले प्रश्न चिह्न खडा भएको बताए ।

‘वीपी र जीपी प्रतिष्ठानहरूले सहयोगका लागि निवेदन दिइसकेका छन्,’ उनले भने, ‘अब भोलिका दिनमा के हुन्छ ? प्रश्न चिह्न खडा भएको छ ।’ उनले प्रदेश सरकारले विगतमा अग्रज राजनीतिज्ञको नाममा स्थापित प्रतिष्ठानलाई सहयोग गरेको भन्दै मदन भण्डारीको नामसँग जोडिएको विषय मात्रै किन उठेको भन्दै प्रश्न गरेका थिए ।

‘विगतमा पोष्टबहादुर बोगटी स्मृति पार्क, तुलसीलाल स्मृति प्रतिष्ठान, सुवर्ण शमशेर प्रतिष्ठान, सहिद प्रतिष्ठान नेपाल भरतपुर, लोककल्याण सेवा प्रतिष्ठानहरूलाई सहयोग उपलब्ध गराइसकिएको छ,’ उनले भने, ’तर, मदन भण्डारीको नामसँग मात्रै किन विषय उठ्यो, भोलिका दिनमा समिक्षा होला नै ।’

उनले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापनाको तयारीदेखि, कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>