Breaking News
सामुद्रिक चक्रवात प्रभावः नेपालमा औसतभन्दा बढी वर्षा

काठमाडौं,जेठ १३-
अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका यी दुवै चक्रवात प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन् । दुई सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि पर्यो । ताउ–तेबाट पश्चिमी र पूर्वी क्षेत्र बढी प्रभावित भएका छन् । मंगलबारदेखि पूर्व र मध्य क्षेत्रमा वर्षा जारी छ । योक्रम शनिबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली विरलै विकसित हुने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन् । ‘मेरो अध्ययनमा यति छोटो अवधिमा चक्रवात आएर मौसमलाई प्रभाव पार्ने कमै हुन्छ,’ उनले राजधानीसँग भने, ‘नेपालमा पनि यसको प्रभाव परिरहेकाले मनसुनी वर्षा विगतभन्दा बढी हुने अनुमान गर्न सकिन्छ ।’
बुधबार राति प्रदेश १ को एक-दुई स्थान, बिहीबार राति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षा सम्भावना छ
पूर्वीमध्य अरब सागरमा विकसित ताउ–ते चक्रवातको असर नेपालमा गत २ जेठदेखि नै परेको हो । यसको प्रभावले हुरीबताससहितको मध्यम वर्षा र उच्च हिमाली भागमा हिमपात भएको थियो । ताउ–ते सकिएलगत्तै आएको यास चक्रवात प्रभावले पूर्वी नेपालका जिल्लामा वर्षा जारी छ । यो क्रमशः पश्चिम सर्नेक्रममा रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।
जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गरी बुधबार र बिहीबार १ देखि कर्णाली प्रदेशका जिल्लासम्म हल्कादेखि मध्यम वर्षा तथा हिममात हुने जनाएको छ । बुधबार राति प्रदेश १ को एक-दुई स्थान, बिहीबार राति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षा सम्भावना छ । ताउ ते र यास चक्रवातको विकसित मौसमी प्रणालीका कारण पानी पर्दा नेपालीले सुक्खा समय राहत महसुस गरेका छन् ।
कहिलेकाहीँ यस्ता चक्रवातले मनसुनमा प्रभाव पार्ने गर्छन् । जसकारण मनसुन ढिलो वा चाँडो सुरु हुने गर्छ । तर, अहिले नै मनसुन आगमनबारे निष्कर्ष निकाल्न भने नसकिने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् मानन्धर बताउँछिन् ।


























