Breaking News

निषेधाज्ञाको समयमा चितवनमा चोर सक्रिय, १२ जना प्रहरीको फन्दामा

Banner

मनिका विश्वकर्मा,

चितवन, जेठ ५-

चितवनमा निषेधाज्ञाको समयमा चोरीका घटना बढेका छन । निषेधाज्ञा पछिको समयमा मात्रै जिल्लामा ५ वटा चोरीका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गत वैशाख २५ गते भरतपुरमा नक्कली सिआईडी बनेर लुटपाट गर्ने ६ जना युवकलाई प्रहरीले पक्राउ गरेको थियो । भरतपुर महानगरपालिका १० सिनर्जीचोक स्थित सुष्मा गुरुङको घरमा नक्कली सिआइडी बनेर लुटपाट गरेको आरोपले प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

सो घटनामा पक्राउ पर्नेहरुमा गोरखा घर भइ हाल भरतपुर ११ मा बस्ने २२ वर्षीय बिमल गुरुङ, सोही स्थानका २५ वर्षीय सागर कुमाल, बाग्लुङको जमैनी घर भई हाल भरतपुर ११ मै बस्ने २४ वर्षीय जीवन पौडेल, सोही स्थानका २० वर्षीय समिर कुमाल, २१ वर्षीय सन्दिप गुरुङ र भरतपुर १० का २२ वर्षीय निर्दोष थापा क्षेत्री रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सुचना अधिकारी सुर्य बहादुर थापाका अनुसार रातको समयमा उनीहरु आफुहरुलाई सिआइडी बताउँदै स्थानीय सुष्मा गुरुङ घरमा प्रवेश गरेका थिए । उनीहरुले एक थान चाँदीको बाला र ४६ हजार रुपैयाँ चोरी गरेको थापाले बताउनुभयो ।

यस्तै जेठ २ गते मोटरसाईकल चोरी गर्ने तिन जना पक्राउ परेका छन् । उनीहरुले भरतपुर १९ का प्रेम सिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेका थिए । मोटरसाइकल चोरी गर्नेहरुमा भरतपुर वडा नं १९ शारदानगर बस्ने २० वर्षीय आकास तामाङ, पुर्वी नवलपरासी गैडाकोट ७ गैह्रीटोल स्थाथी घर भई हाल भरतपुर ५ मा डेरा गरी बस्ने २८ वर्षीय दुर्गा पौडेल र पूर्वी नवलपरासी गैडाकोट ९ थुम्सी बस्ने २० वर्षीय सन्दिप आले रहेका छन् ।

प्रवक्ता थापाका अनुसार निषेधाज्ञाको समयमा मात्रै चितवनमा चोरीका ५ घटना दर्ता भएका छन । जसमा चोरी गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । जसमध्ये ५ जनामाथि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । एक जना अझै फरार रहेको थापाले बताउनुभयो । निषेधाज्ञाको समयमा सबैजना घरमै बसेकोले चोरी गर्नेहरुलाई तत्काल नै पक्राउ गर्न सकिएको थापाले बताउनुभयो । पहिला पनि चोरीका घटनाहरु भइरहने र निषेधाज्ञाको समयमा पनि चोरीका घटना बढेको उहाँले बताउनुभयो । आर्थिक वर्ष ०७७।७८ मा ६३ चोरीका घटनामा ९५ जना पक्राउ परेका थिए । जसमा एक महिलासहित ९४ जना पुरुष रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>