Breaking News
नेपालमै अक्सिजन सिलिण्डर उत्पादन गरिने, नाष्टले गर्यो सफल परीक्षण
ललितपुर,जेठ ४-
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डर परीक्षणको शुभारम्भ गरेका थिए।
नाष्टका वैज्ञानिकसँग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ ।
नाष्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिण्डर तयार भएको जानकारी दिए । उनले भने,‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ , केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यवसायिक उत्पादन गर्न अनुमति दिनेछौं ।
उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यावाद दिएका थिए ।


























