Breaking News
चितवनका प्रजिअ भन्छन्, ‘कोरोना संक्रमितको दाहसंस्कार गर्दा ७५ सयभन्दा बढी लाग्दैन’
चितवन, जेठ ४
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कार गर्दा ७ हजार ५ सयभन्दा बढी नलाग्ने बताएका छन् ।
आज नारायणी अनलाइनसँग कुरा गर्दै उनले विभिन्न मिडियामा आए जस्तो चर्काे शुल्क नलाग्ने बताए । उनले भने, ‘कोरोना संक्रमितको शव जलाउँदा चर्काे शुल्क खर्च भएको सुचना हामीले पनि प्राप्त ग¥यौं । त्यसपश्चात बैठक बसेर विभिन्न निर्णय गरेका छौं ।’
उनले एक महिनाका लागि लायन्स क्लवले स्ट्रेचरसहितको निशुल्क शववाहनको व्यवस्था गरिदिन लागेको जानकारी दिए । त्यस्तै शव गाड्न प्रयोग हुने एक्जाभेटर भरतपुर महानगरपालिकाले निशुल्क उपलब्ध गराउने भएको उनले बताए । काभिड संक्रमितको शव जलाउनका लागि प्रयोग हुने दाउरा निशुल्क उपलब्ध गराइदिनका लागि डिभिजन वन, वन विभाग, सःमिललाई आग्रह गरिएको उनले बताए ।
यस्तै दाहसंस्कारमा खटिएका ६ जनालाई कटौती गरेर तीन जनाले मात्र दाहसंस्कार गर्न अनुरोध गरिएको प्रजिअ लामिछानेले बताए । उनीहरुले जलाएबापतको शुल्क पाउने गरेका छन् ।
उनले कोभिड संक्रमितको शव नेपाली सेनाले निशुल्क गाड्ने गरेको बताए । सेनाले शव नजलाउने भएका कारण जलाउने व्यक्तिहरुले शुल्क लिने गरेको उनले बताए ।
यसअघि चितवनमा कोरोना संक्रमितको शव जलाउँदा २५ देखि ३० हजार रुपैयाँसम्म लिने गरेको खबरहरु सार्वजनिक भएका थिए ।


























