Breaking News
दासढुंगामा एमाले र मदन भण्डारी फाउण्डेशनद्वारा मदन-आश्रितप्रति श्रद्धाञ्जली

चितवन,जेठ ३-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र मदन भण्डारी फाउण्डेशन चितवनले आज सोमबार दासढुंगामा मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमारी भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
जिल्लाको दासढुंगामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरुप्रति श्रद्धाञ्जली गरिएको छ । नेकपा (एमाले) चितवनले बिहान भरतपुर महानगरपालिका वडा नं.२९ स्थित दासढुंगामा रहेको नेताद्वयको शालिकमा माल्यार्पण गर्नुको साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । कोभिड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँका अनुसार न्यून संख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

यसैगरी मदन भण्डारी फाउण्डेशन चितवनले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ । फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाल लगायतको उपस्थितिमा नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गरिएको छ ।
बि.सं. २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुंगामा रहस्यमय रुपमा दुर्घटना भएको थियो । आश्रितको शव दासढुंगास्थित त्रिशुली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजीपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।

























