Breaking News
काम गरेको पैसा नदिएको भन्दै मोरङमा मालिकको हत्या

मोरङ, जेठ १
मोरङमा काम गरेको पैसा नदिएको भन्दै साहुको हत्या भएको छ । लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार लेटाङ–३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राईको हत्या गरेका हुन् ।
हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन् । रोमन निर्माण व्यवसायी हुन् । काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार लेटाङको त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता एवम् डीएसपी मानबहादुर राईका अनुसार पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका रोमनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । उनको राति १०ः३० बजेतिर मृत्यु भएको बताइएको छ ।
हत्याका अभियुक्त दुबै जनालाई रोमनले नै निर्माण सामाग्री ढुवानीको काममा लगाउने गरेका थिए । काममा लगाएको पैसा नदिएको विषयलाई लिएर बढेको विवाद हत्यामा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ ।


























