Breaking News

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

Banner

भरतपुर,बैशाख २८-

चितवनमा हालसम्म १० हजार भन्दा व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा १० हजार १९९ जनामा कोरोना सङ्क्रमण भएकोमा ७ हजार १४५ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

यसैबीच, चितवनका विभिन्न अस्पतालमा गरिएका परीक्षणको रिपोर्टअनुसार पछिल्लो चौबिस घण्टामा जिल्लामा २७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार चितवनमा मङ्गलबार एकै दिनमा २७४ जना सङ्क्रमित थपिएका हुन् । सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा २२०, रत्ननगर नगरपालिकामा १८, खैरहनी नगरपालिकामा १२ जना, कालिका नगरपालिकामा १०, राप्ती नगरपालिकामा ७, माडी नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा २ जना रहेका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

सक्रिय कोरोना सङ्क्रमित दुई हजार ९०९ जना पुगेका छन् । जिल्लाका सक्रिय सङ्क्रमितमध्ये २०० जना अस्पतालको आइसोलेसनमा छन् भने होम आइसोलेसनमा दुई हजार ७०९ जना रहेका छन् । अहिलेसम्म जम्मा १४५ जनाको मृत्यु भएको तिवारीले बताउनुभयो ।
चितवनको विभिन्न अस्पतालमा ४३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लामा सबैभन्दा बढी कोरोना सङ्क्रमितको उपचार चितवन मेडिकल कलेज (सिएमसी)मा भइरहेको छ । कार्यालयकाअनुसार सिएमसीमा १७७ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

सिएमसीमा उपचाररत सङ्क्रमितमध्ये आइसीयूमा १५८ जना, भेन्टिलेटरमा ३६ जना, एचडियूमा १९ जना रहेका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । तिवारीकाअनुसार पछिल्लो २४ घण्टामा सिएमसीबाट २३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने पाँच जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै, जिल्लाको भरतपुरमा अस्पतालमा १३५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पतालको आइसीयूमा १० जना, एचडियूमा २५ जना तथा कोभिड वार्डमा १०० जनाको उपचार भइरहेका तिवारीले बताउनुभयो । तिवारीकाअनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने १५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

भरतपुरको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा ८१ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको तिवारीले जानकारी दिनुभयो । उपचाररत सङ्क्रमितमध्ये ६२ जना आइसीयू, १३ जना भेन्टिलेटर र १९ जना एचडियूमा रहेका तिवारीको भनाइ छ । पुरानो मेडिकल कलेजबाट पछिल्लो २४ घण्टामा ६ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् भने १ जना सङ्क्रमितको ज्यान गएको छ ।

त्यसैगरी, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना, जिल्लाका अन्य निजी अस्पतालमा १० जनाको आइसीयू तथा २५ जनाको कोभिड वार्डमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । त्यस्तै रत्ननगर नगरपालिकाको आइसोलेसनमा १ जना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा उपचाररत सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ४४ जना निको भएर डिस्चार्ज भएका तिवारीले जानकारी दिनुभयो । तिवारीकाअनुसार चितवनका विभिन्न अस्पतालको आइसीयूमा २४०, भेन्टिलेटरमा ४९, एचडियूमा ६३ तथा कोभिड वार्डमा १२७ जनाको उपचार भइरहेको छ । चितवनको भरतपुर महानगरपालिकाभित्र होम आइसोलेसनमा रहेका १ जना सङ्क्रमितसहित जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १० जनाको पछिल्लो चौबिस घण्टामा ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>