Breaking News
संवैधानिक परिषद बैठकमा काँग्रेस सहभागि नहुने

काठमाडौं, वैशाख २५ –
नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिष्कार गर्ने घोषणा गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आफू उपस्थित नहुने घोषणा गरेका हुन् । सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा परिषद्का अन्य सबै सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।
‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ’, देउवाको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’
देउवाले लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । देउवाले संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य सरकारले गरेको पनि बताएका छन् ।


























