Breaking News
चितवनमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु

चितवन,बैशाख २२-
कोरोना भाइरसको संक्रमण पुष्टि भएर चितवनका विभिन्न अस्पतालमा उपचार गराइ रहेकामध्ये २४ घण्टाको अवधिमा १० जनाको निधन भएको छ । मृत्यु हुनेमध्ये चारजना चितवनका र बाँकी ६ जना अन्य जिल्लाको रहेको चितवन स्वास्थ्य कार्यालयले जानकारी गराएको छ । चितवन मेडिकल कलेजमा पाँचजना, भरतपुर अस्पताल चार तथा पुरानो मेडिकल कलेजमा एकजना संक्रमितको निधन भएको हो ।
भरतपुर अस्पतालमा प्रवक्ता डा.युवानिधी बसौलाले मृतक चारजनामध्ये दुईजना चितवनका, एकजना मकवानपुर हेटौंडाका र एकजना रुपन्देही बुटबलका रहेको बताए । चितवन स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेकामध्ये मृत्यु भएका पाँचजनामा एकजना चितवन, तीनजना रुपन्देही र एकजना नवलपरासी जिल्लाका छन् । पुरानो मेडिकल कलेजमा चितवनका एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसहित चितवनमा हालसम्म कोरोना संक्रमण पुष्टी भएका १२५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


























