Breaking News
चितवनका उद्योग कलकारखानामा अक्सिजन ग्याँस आपूर्ति तथा प्रयोगमा रोक

चितवन,बैशाख २२-
जिल्ला प्रशासन कार्यालय चितवनले उद्योग कलकारखानामा अक्सिजन ग्याँस आपूर्ति तथा प्रयोगमा केही समयका लागि रोक लगाएको छ । कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि प्रशासनले अक्सिजन ग्याँस आपूर्ति तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि ग्याँस उत्पादक कम्पनी, सप्लार्यस र विभिन्न अस्पतालका प्रतिनिधिहरुसंग छलफल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले कोरोना संक्रमणको अवस्था खराब भई अक्सिजन नपाएर संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न समेत निर्देशन दिइएको जानकारी दिनुभयो । ‘अक्सिजनसहित सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई जिल्लामा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गर्न अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न निर्देशन गरिएको उहाँले बताउनुभयो ।
“चितवनका करिब एक हजार सिलिण्डर बाहिरी जिल्लामा रहेछन, प्रजिअ लामिछानेले भन्नुभयो,सबैभन्दा धेरै बारा, पर्सा र मकवानपुरमा रहेको पाइयो ।” उहाँले बाहिरी जिल्लामा रहेका अक्सिजन सिलिण्डर फिर्ता गर्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
चितवनमा करिब ६ हजार सिलिण्डर रहेको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसंग रहेको छ । केही प्रयोगमा छन केही विभिन्न ठाँउमा होल्ड भएर बसेका छन । व्यक्तिले घरमा राखेका सिलिण्डरपनि ल्याउन अनुरोध गरेका छौं,प्रजिअ लामिछानेले भन्नुभयो ।


























