Breaking News
सरकारको अकर्मण्यताले नै कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आयो: देउवा

काठमाडौं, वैशाख १७ –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अकर्मण्यताका कारणले नै कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको आरोप लगाएका छन् ।
शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुन थालेको बताएका हुन् ।
यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदशीलता र अकर्मण्यता जिम्मेवार रहेको उनले बताए । सररकारले विगतको गल्तीहरुबाट नसिक्ने र , नेपाली कांग्रेस तथा अन्य सरोकारवालाले दिएको सल्लाह र सुझावलाई पनि आत्मसात नगर्ने देउवाले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडकभडकमा मग्न भएको र संक्रमण रोक्न कुनै ठोस काम नगरेका कारण फेरि लकडाउन गर्ने स्थितिमा पुगेको उनले भनेका छन् ।
























