Breaking News

चितवनमा आजदेखि निषेधाज्ञा,अघिल्लो दिन घर फर्किनेहरुको लर्को

Banner

मनिका विश्वकर्मा,

चितवन,बैशाख,१७ –

गोरखाका वीरबहादुर तामाङ चितवनको भरतपुरमा आफन्तको घरमा आउनुभएको थियो । चितवनमा सुविधासम्पन्न अस्पतालहरु धेरै भएकोले तामाङ पनि उपचारको लागि यहाँ आउनुभएको थियो ।

मधुमेहले ग्रसित तामाङलाई पाँच महिना जति चितवन बसेर निको भएपछि घर फर्किने मन थियो । तर, लकडाउन हुने भनेपछि उहाँ घर फर्किनुभएको छ । नारायणगढको पोखरा बसपार्कमा तीन घण्टा बसको प्रतिक्षा पछि उहाँ गोरखा आफ्नो घरमा फर्किनुभयो ।

उमेरले ८० काटिसक्नुभएका तामाङको घरमा उहाँको श्रीमती मात्रै हुनुहुन्छ । उहाँका छोराछोरीहरु कोही परदेश र केही चितवनमा नै बसोबास गर्छन् । तामाङ भन्नुहुन्छ, ‘अब सरकारले यसपालि कहिलेसम्म बन्द गर्ने हो खै । बरु घर नै जान्छु उता गए त आनन्दसँग बस्न पाइन्छ । बन्द खुलेपछि आउनुपर्ला चितवन ।’

त्यस्तै भरतपुरमा डेरा गरेर बस्ने दुई दिदी बहिनीहरु पनि घर फर्किन बस कुर्दै बसेका थिए । बिहीबार रातिदेखि बन्द हुने भएपछि उनीहरु पनि घर फर्किएका हुन् । भरतपुरमा नै बसेर पढ्ने उनीहरु अब बन्द खुलेपछि मात्रै चितवन आउने भएका छन् ।

यसैगरी, चितवन मेडिकलमा उपचार गरेर नवलपरासीको बर्दघाट फर्किन लाग्नुभएकी देवीमाया लम्साल भन्नुहुन्छ, ‘बिहान ११ बजेदेखि बस कुरेर बसेको तीन घण्टा भइसक्यो । सबै गाडीहरु सिट भरिएको मात्रै आउँछन् । सामान नै सामानहरुले भरिएको बसहरुमा खुट्टटा राख्ने ठाउँ छैन कसरी जाने ?’ चितवनमा जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि बन्दको सूचना जारी गरेपछि चितवनमा व्यापार व्यवसाय गरेर बसेकाहरुलाई धेरै मार परेको छ । बन्द हुने भनेपछि नै विभिन्न व्यक्तिहरु घर फर्किएका छन् ।

पाँच वर्षदेखि चितवनमा डेरा गरेर बस्दै आउनुभएकी तारादेवी परियारको परिवारलाई बन्द हुने भनेपछि धेरै सकस परेको छ । अघिल्लो वर्ष सरकारले कोरोना भाइरस रोकथामको लागि भनेर धेरै महिना चितवनसहित विभिन्न जिल्लाहरुमा बन्द गरेको थिए । उक्त बन्दको समयमा तारादेवी र उहाँका छोरा बिरामी भए ।

बन्दको कारण उनीहरुले उपचार गर्ने खर्च ऋण खोजेर गरे । उनीहरुले आधा रकम त तिरिसकेका छन् । तर आधा ऋण भने बाँकी रहेको तारादेवीले बताउनुभयो । नारायणी नदीकिनारमा चटपट पानीपुरी बेच्दै आएका उनीहरुले त्यहीँबाट बिहान बेलुकाका छाक टार्ने गर्थे । बन्द भएपछि आफूलाई खर्च उठाउन नै धौ धौ हुने तारादेवीले गुनासो गर्नुभयो ।
दाङ जाने बसहरु चितवनबाट दिनमा बिहान र बेलुका गरेर सात वटा जान्छन् । बन्द हुने खबर नआउँदासम्म चितवनबाट दाङ जाने त्यति धेरै यात्रु नहुने राप्ती यातायात प्रालिका विष्णु सिग्देलले बताउनुभयो । बन्द हुने खबर पाएपछि चितवनबाट ५०० जना राप्ती अञ्चल फर्किएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार बुधबार भन्दा बिहीबार यात्रुहरुको आवातजावात बढेको थियो । ट्राफिक प्रहरीले काठमाडौँ जाने यात्रुहरुलाई भने रोक लगाएको छ । मालबाहक सवारी साधनहरुलाई भने काठमाडौँ जान दिइरहेको थापाले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले भण्डरादेखि खैरहनी नाकासम्म कोरोना रोकथामको लागि कडा गरिरहेको र माक्स नलगाएकाहरुलाई माक्स वितरण गरेको थापाले बताउनुभयो । निषेधाज्ञा लागू भएपछि आज शुक्रबारदेखि अत्यावश्यक यात्रुहरुको आवातजावात हेरेर सहजीकरण गरिने उहाँले बताउनुभयो ।

नारायणगढको पोखरा बसपार्कका टिकट बुकिङ कर्मचारी नारायण कँडंलका अनुसार चितवनबाट बिहीबार गोर्खा र लमजुङ जाने यात्रु मात्रै दुई हजार थिए । त्यस्तै बिहानदेखि बेलुकासम्म चितवनबाट पोखराका लागि ५००, बागलुङ तथा बेनीका लागि २०० जना यात्रुहरु गएका कँडेलले बताउनुभयो । स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा गर्ने सूचना प्रकाशित गरेको भए पनि जिल्लाबाट बाहिरिने यात्रुका लागि थप सवारी साधनको व्यवस्थापन गर्नु नपरेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>