Breaking News

चितवन बन्द हुने भएपछि घर फर्किने बढे, पोखरा बसपार्कबाट आज झण्डै तीन हजार यात्रु बाहिरिए

Banner

मनिका विश्वकर्मा,

भरतपुर, वैशाख १७

वीरबहादुर तामाङ गोरखाबाट उपचारको लागि चितवन आएका थिए । सुगर रोगले ग्रसित तामाङलाई पाँच महिना जति चितवनमा बसेर निको भएर घर फर्किने मन थियो तर लकडाउन हुने भनेपछि उनी हतारहतार घर फर्किएका छन् । तीन घण्टा बसपार्कमा गाडीको प्रतिक्षा गरेपछि पोखरा बसपार्कबाट उनी गोरखा घरमा फर्किए । उमेरले ८० कटिसकेका तामाङको घरमा श्रीमती मात्रै छन् । उनका छोराछोरीहरु कोही परदेश र कोही चितवनमा नै बसोबास गर्छन् । तामाङ भन्छन्र्, अब सरकारले यो पाली कहिलेसम्म बन्द गर्ने हो खै । बरु घर नै जान्छु उता गए त आनन्दसँग बस्न पाइन्छ । बन्द खुलेपछि आउनु पर्ला चितवन ।’

त्यस्तै भरतपुरमा डेरा गरेर बस्ने दुई दिदी बहिनीहरु पनि घर फर्किन लागेका छन् । आज रातिदेखि बन्द हुनेभएपछि उनीहरु पनि घर फर्किन लागेका हुन् । भरतपुरमा नै बसेर पढ्ने उनीहरु अब बन्द खुलेपछि मात्रै चितवन आउने भएका छन् ।

यसैगरी चितवन मेडिकल कलेजमा उपचार गरेर बर्दघाट फर्किन लागेकी देवीमाया लम्साल भन्छिन्र्, बिहान ११ बजेदेखि बस कुरेर बसेको तीन घण्टा भइसक्यो सबै सिट भरिएर आउँछ । सामान नै सामानहरुले भरिएको बसहरुमा खुट्टा राख्ने ठाउँ छैन कसरी जाने ।’ चितवनमा जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि बन्द गर्ने भनेपछि चितवनमा व्यापार व्यवसाय गरेर बसेकाहरुलाई धेरै मार परेको छ । बन्द हुने भनेपछि नै विभिन्न व्यक्तिहरु घर फर्किन लागेका हुन् ।

पाँच वर्षदेखि चितवनमा डेरा लिएर बस्दै आएका तारादेवी परियारको परिवारलाई बन्द हुने भनेपछि धेरै सकस परेको छ । अघिल्लो वर्ष सरकारले कोरोना भाइरस रोकथामको लागि भनेर धेरै महिना चितवनसहित विभिन्न जिल्लामा बन्द गरेका थिए । उक्त बन्दको समयमा तारादेवी र उनका छोरा बिरामी भए । बन्दको कारण उनीहरुले उपचार गर्ने खर्च ऋण खोजेर गरे । उनीहरुले आधा रकम त तिरिसकेका छन् । तर आधा ऋण भने बाँकी रहेको तारादेवीले बताइन् । नारायणी तिरमा चटपट पानीपुरी बेच्दै आएका उनीहरुले त्यहीबाट बिहान बेलुकाको छाक टार्ने गर्थे । बन्द भएपछि आफूलाई खर्च उठाउन नै धौ धौ हुने तारादेवीले नारायणी अनलाइनलाई बताइन् ।

दाङ जाने बसहरु चितवनबाट दिनमा बिहान र बेलुका गरेर सातवटा जान्छन् । बन्द हुने खबर नआउन्जेल चितवनबाट दाङ जाने त्यति धेरै नहुने राप्ती यातायात प्रालिका विष्णु सिग्देलले बताए । बन्द हुने खबर पाएपछि चितवनबाट ५०० जना राप्ती अञ्चल फर्किएको उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भगवानराज थापाका अनुसार अघिल्ला दिनहरुमा भन्दा आज यात्रुहरुको आवतजावात बढिरहेको छ । ट्राफिक प्रहरीले काठमाडौं जाने यात्रुहरुलाई भने रोक लगाएको छ । मालवाहक सवारी साधनलाई भने काठमाडौं जान दिइरहेको थापाले जानकारी दिए । ट्राफिक प्रहरीले भण्डरादेखि खैरहनी नाकासम्म कोरोना रोकथामको लागि कडा गरिरहेको र माक्स नलगाएकाहरुलाई माक्स बितरण गरिएको थापाले बताए । बन्द भएपछि अर्थात भोलिबाट अत्यवश्यक यात्रुहरुको आवातजावात हेरेर सहजीकरण गरिने उनले बताए ।

पोखरा बसपार्क बुकिङ कर्मचारी नारायण कँडेलका अनुसार चितवनबाट आज गोरखा र लमजुङ जाने मात्रै दुई हजार जना यात्रुहरु रहेका छन् । त्यस्तै बिहानदेखि बेलुकासम्म चितवनबाट पोखरा जाने ५००, बेनी बागलुङ २०० जना फर्किएको कडेंलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>