Breaking News

चितवन प्रहरीको हिरासतमा ६ जना तेस्रोलिङ्गी,अधिकारकर्मी भन्छन : बिना गल्ती पक्राउ गरियो

Banner

मनिका विश्वकर्मा,

चितवन, वैशाख १५-

सोमबार जिल्ला प्रहरी कार्यालय चितवनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ६ जनालाई पक्राउ ग¥यो । प्रहरीका अनुसार सर्वधारणलाई अभद्र व्यहार गरेको आरोपमा उनीहरुलाई समातिएको हो ।

वैशाख १३ गते भरतपुर ओरालामा २० जना भन्दा बढी तेस्रो लिंगीहरु आएका थिए । उनीहरु नियमित जस्तै यौन पेशाका लागि रातको समयमा ओरालोमा आए । त्यही मौका छोपेर प्रहरीले उनिहरुलाई समात्यो । परिवार र समाजको तिरस्कारबाट यौन पेशा गर्न बाध्य भएको उनीहरु बताउँछन् ।

“विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण चितवनमा पनि बन्द हुने हल्ला सुनेका थियौं, हामीहरुले त लकडाउन भयो भने खाना नै पाउदैनौं भन्ने चिन्ता थियो । त्यसैले हामी ओरालोमा आयौं । यौन पेशामा आवद्ध तेस्रो लिंगी जलसा तामाङ (नाम परिवर्तन)ले भनिन् ।” तामाङ भन्छिन्, “हामी ग्राहकहरुको सहमतिमा नै यौन पेशा गर्ने गरेका छौं ।”

प्रहरीले पक्राउ गर्ने दिन पनि जलसा पनि भरतपुर ओरालोमा गएकी थिईन् । उनिहरुले एक रातमा पाँच सय रुपैंयासम्म कमाई गर्ने गरेका छन । रातको साढे ९ बज्दै थियो । प्रहरीहरु त्यो दिन सादा पोशाकमा गएका थिए । प्रहरीले समात्न थालेपछि जलसा पनि भाग्न थालिन । उनको भाग्ने क्रममा लडेर खुट्टामा चोट समेत लागेको छ ।

प्रहरीलाई ग्राहक सम्झिएर ७/८ जना तेस्रो लिंगीहरु सामुन्ने आएपछि ६ जनालाई मात्रै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी तथा डिएसपी सरोज गिरीले जानकारी दिए । प्रहरीको भ्यान केही पर नै राखेर महिला प्रहरी सहितको टोलीले एक घण्टाको समयमा पक्राउ गरिएको गिरीले बताए । उनका अनुसार अन्य तेस्रो लिंगीहरु भने भागेका थिए । पक्राउ परेका ६ जनालाई राति नै जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखियो ।

वडा प्रहरी कार्यालय नारायणगढमा तेस्रो लिंगीले अभद्र व्यवहार गरेको भन्ने जनगुनासो आएपछि पक्राउ गरिएको वडा प्रहरी प्रमुख रघु सिंह बिष्टले बताए । रातको समयमा स्थानिय बासिन्दालाई लुटपाट, कुटपिट, अश्लिल खालका हर्कतहरु गरेको गुनासो आएकाले उनीहरुलाई पक्राउ गरिएको सिंहले जानकारी दिए ।

स्थानियहरुको जनगुनासो आएपछि वडाप्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयनमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुलाई पक्राउ गरेको भोलिपल्ट नै अदालतमा मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेकाहरुले बिनागल्ती आफुहरुलाई समातिएको गुनासो गरेका छन् । आफुहरु यौन पेशाको लागि मात्रै बाध्यताले गएको र प्रहरीले लगाएको अन्य आरोप झुट रहेको उनीहरु बताउँछन् । उनीहरु भन्छन्,“हामीहरुले अहिले सम्म पनि ग्राहकको असहमतिमा काम गरेका छैनौं । बरु ग्राहकहरुबाट हामीहरुलाई जोखिम हुन्छ । सर्वसाधारणलाई ठेस पुग्ने खालका कामहरु हामीले गरेका छैनौं ।”

चितवनमा तेस्रो लिंगीको हक अधिकारका लागि आवाज उठाउँदै आएका देव कुमार श्रेष्ठ भन्छन्,“राज्यले उनीहरुको साथ सहयोग गर्नुप¥यो कि भने रोजगार दिनुप¥यो । उनीहरुलाई पक्राउ गरेर त समस्याको समाधान नहोला नि । उनीहरुको हक अधिकारको लागि राज्यले साथसहयोग गर्नुपर्छ ।”

मानव सचेत समाजकी अध्यक्ष नविना गुरुङका अनुसार प्रहरीले उनीहरुमाथि मुद्दा चलाईसकेको छ । स्थानियको गुनासो आयो भन्दै गलत नै नगरेकोलाई त समात्न मिल्दैन नि । गुरुङले भनिन्, “प्रहरीले गल्ती गर्नेलाई समात्नुपर्ने थियो । अनुसन्धान गरेर गल्ती गर्नेहरु समातिनुपर्ने थियो । मानव अधिकारको हिसाबले पनि उनीहरुमाथि गलत भईरहेको छ ।”

महानगरपालिकाकी महिला विकास अधिकृत शान्ता पौडेल भन्छिन “उनीहरुले रातको समयमा सर्वसाधारण नागरिकहरुलाई पटक पटक दुख दिएको कुरा हामीले सुनेका नै हौं ।” तर मानव अधिकारको हिसाबले उनीहरु बाच्न पाउनुपर्छ । उनीहरुको पनि हक अधिकारको सुनिश्चित हुनुपर्छ । उनीहरु खुलेर नआएको कारणले पनि महानगरले केही गर्न नसकेको पौडेलले बताईन् । भरतपुर महानगरलाई आफ्नो क्षेत्रमा कति तेस्रो लिङगी छन् भन्ने थाहा छैन । पक्राउ परेका ६ जनामाथि गरेको अभद्र व्यवहार मुद्दा फैसला भयो भने तीन महिना कैद र १० हजार जरिवाना लाग्ने कानुनी प्रक्रिया रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>