Breaking News

कोरोना भाइरस भारत : चुनावी र्‍याली हुन दिएको भन्दै अदालतद्वारा निर्वाचन आयोगको चर्को आलोचना

Banner

बीबीसी । भारतको मद्रास उच्च अदालतले त्यहाँको निर्वाचन आयोग कोरोनाभाइरस महामारी फैलाउन जिम्मेवार भएको भन्दै चर्को आलोचना गरेको छ ।

उसले सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बेलामा पनि पाँचवटा राज्यमा ठूल्ठूला निर्वाचन र्‍यालीहरू हुन दिएको अनि तिनमा कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गराउन नसकेकोमा आलोचना गरेको छ ।

निर्वाचन र सङ्क्रमण
ती राज्यहरू अहिले भाइरस सङ्क्रमणको दृष्टिकोणले ‘हटस्पट’ बनेको बताइएको छ । पछिल्ला दिनहरूमा पश्चिम बङ्गाल राज्य र उसको राजधानी कोलकातामा सङ्क्रमण निकै तीव्र गतिमा फैलिन थालेको विवरणहरू आएका छन् ।

त्यस्ता र्‍यालीहरू भइरहेका बेलामा “आयोगका अधिकारीहरू कुन ग्रहमा थिए ?” भनेर न्यायाधीशहरूले प्रश्न गरेका छन् ।

तिनले किन हत्याका अभियोग खेप्नु नपर्ने भनेर पनि उनीहरूले सोधेका छन् । चेन्नईस्थित अदालतले मापदण्डसम्बन्धी बन्देजहरू नलगाइए आइतवार हुने तमिलनाडु राज्य निर्वाचनको मतगणना रोकिदिने चेतावनी पनि दिएको छ ।

न्यायाधीशको कडा टिप्पणी
सोमवार मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयोगका वकिललाई भने, “कोरोनाको दोस्रो लहरका निम्ति केवल अनि केवल निर्वाचन आयोग जिम्मेवार छ ।”

उनले आयोगका अधिकारीहरूमाथि हत्याको आरोप लगाउनु पर्ने पनि बताए । अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि प्रचारप्रसारको बेला मास्क तथा स्यानिटाइजरको प्रयोग अनि भौतिक दूरीको नियम लागु गर्न नसकेको न्यायाधीशले बताए ।

दुईजना न्यायाधीशको उक्त इजलासले आयोगलाई मतगणनाका बेला उसले अपनाउने मापदण्ड स्वास्थ्य सचिवसँग मिलेर बनाउन भनेको छ । यी कार्य गर्न अदालतले आयोगलाई एप्रिल ३० सम्मको समयसीमा दिएको छ ।

हालै भारतका तीनवटा राज्य केरला, तमिलनाडु, आसाम अनि केन्द्रप्रशासित क्षेत्र पुदुचेरीमा चुनाव सम्पन्न भएका छन् । पश्चिम बङ्गाल राज्यमा अझै पनि मतदान जारी छ ।

त्यहाँ सोमवार सातौँ चरणको मतदान भएको थियो भने आठौँ तथा अन्तिम चरणको मतदान हुन बाँकी छ । सबै ठाउँको मतगणना मे २ मा गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>