Breaking News

नेपाली सेनामा चार कमाण्डको संरचनामा बन्दै, चितवनको शक्तिखोरमा लजिस्टिक बेस रहने

Banner

काठमाडौँ, वैशाख ९-

नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको छ ।

जसअनुसार चितवनको शक्तिखोरमा लजिस्टिक बेस तयार भइसकेको छ । सेनालाई आवश्यक पर्ने खाद्यान्न र अन्य सामग्री सबै शक्तिखोरबाटै परिचालित हुनेछ । कुनै बेला माओवादी लडाकुको शिविर रहेको शक्तिखोर सेना समायोजनसँगै नेपाली सेनाको अधिनमा सो शिविर आएको थियो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार आगामी साउन महीनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जानेछ । सेनाले नदीका आधारमा पूर्वी, मध्य, पश्चिमसहित उपत्यका गरी चारवटा संरचना राख्न लागेको पौडेलले बताए ।

हाल ७ वटा प्रदेशमा एक–एक र उपत्यकामा थप एउटा गरी ८ वटा पृतना छन् । सेनाले प्रदेश १, २ र ३ का केही जिल्लासमेत समेटेर कोशी तटीय क्षेत्रलाई पूर्वी र गण्डकीलाई आधार बनाएर मध्य कमाण्ड राख्ने तयारी गरेको छ । कर्णाली नदीको आसपासमा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरु समेटेर पश्चिम कमाण्ड राख्ने तयारी गरेको छ ।

राजधानी भएकाले विशेष रणनीतिक महत्व हुने हुँदा उपत्यकालाई पनि छुट्टै कमाण्डमा राखिएको सैनिक प्रवक्ता पौडेल बताउँछन् । ‘सरकारलाई थप आर्थिक भार नपर्ने गरी अहिले भएकै जनशक्ति, संरचना र स्रोत, साधन समायोजन गरेर यो अवधारणामा जान लागिएको हो’, पौडेलले भने ।

सेनाले तीन जोड एक कमाण्ड संरचनाको अवधारणा कार्यान्वयन गराउनुअघि पटकपटक जंगीअड्डामा छलफल गरेको थियो । पूर्वसैनिक अधिकृतहरुले पनि अपरेशनका लागि अहिलेका संरचनाको विकल्प कमाण्ड हुने सुझाव दिएका थिए । गत वर्ष प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि कार्यकालको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा सम्पादकहरुसँग छलफल गरेका थिए । सो छलफलमा सेनाको अपरेशन क्षमता विकासका लागि भूराजनीतिक र रणनीतिक परिवेश सुहाउँदो लडाइँ लड्ने ‘इन्टिग्रेटेड कमाण्ड’, ‘इन्टिग्रेटेड इन्टेलिजेन्स सिस्टम’ सहितको ‘तीन जोर एक कमाण्ड’ अवधारणाको विकासका लागि छलफल भइरहेको प्रधानसेनापति थापाले बताएका थिए ।

समय–समयमा भएका छलफलबाट नेपाली भू–वनावट र रणनीतिक दृष्टिले उत्तर–दक्षिणमा आधारित कमाण्ड संरचनाअनुसार फौज राख्नु उपयुक्त हुने निष्कर्ष निकालिएको प्रवक्ता सन्तोष बल्लभ पौडेल बताउँछन् । त्यसअनुसार सरकारबाट समेत अनौपचारिक स्वीकृति लिएर सेनाले कमाण्ड संरचनामा जाने तयारी गरेको हो ।

जङ्गीअड्डाका एक अधिकृत भन्छन्, ‘अनौपचारिक सहमति पाइसकेका छौं, जनशक्ति व्यवस्थापन लगायतका विषयमा मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ । त्यससम्बन्धी प्रस्ताव रक्षा मन्त्रालयबाट जानेछ ।’

‘यसअघि पनि यो संरचना अभ्यास भइरहेकै थियो, त्यसलाई संस्थागत गर्न खोजिएको मात्रै हो’ सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘बजेटको विषयहरु पनि मिलाउनुपर्ने भएकाले साउनबाट यो पूर्णरुपमा कार्यान्वयनमा आउनेछ ।’

सेनाले कमाण्ड संरचनामा जाने गरी गौचरण र सुर्खेतमा एयरवेस स्थापना गरिसकेको छ, पूर्वी कमाण्डका लागि विराटनगरमा प्रस्ताव गरिएको छ । बाँकेको कोशिलानगर र चितवनको शक्तिखोरमा ‘लजिस्टिक बेस’ पनि तयार भइसकेको छ, पूर्वमा महोत्तरीको बर्दिवासमा स्थापनाका लागि स्थान गर्ने तयारी छ । यही संरचना अनुसार सेनाले नेपालगञ्ज, पोखरा, इटहरी र काठमाडौंमा सैनिक अस्पतालसमेत स्थापना गरिसकेको छ ।

सैनिक प्रवक्ता पौडेलका अनुसार कमाण्ड संरचनाले सैनिक स्रोत, साधनको सन्तुलित तैनाथी र द्रुत परिचालनका लागि सहयोग पुग्नेछ । साथै, प्रकोप व्यवस्थापन, वन्यजन्तु आरक्षणको सुरक्षा, विकास निर्माण तथा खोज तथा उद्धारका लागि फौज परिचालन पनि छरितो हुनेछ ।
‘पहिले पश्चिमका मान्छेलाई हेलिकोप्टरबाट उद्धार गर्नुप¥यो भने रक्षा मन्त्रालय र जङ्गीअड्डामा प्रक्रिया पूरा गरेर मात्रै टोली हिंड्थ्यो’ एक अधिकृतले भने, ‘अब त्यो अधिकार कमाण्डमै जान्छ, कमाण्डबाट सीधै हवाइ साधन परिचालन हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>