Breaking News
बालुवाटारमा प्रधानमन्त्रीले पूजाआजा गरेपछि चितवन पठाइयो राम-सीताका मूर्ति

चितवन,बैशाख ७-
चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन ल्याउनुपहिले पूजाआजा गरेका हुन्।
चितवनमा अयोध्यापुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गत वर्षदेखि नै बताइरहेका थिए। तयार पारिएका मूर्तिहरू रथ यात्रा गरेर आज चितवन ल्याइदैछ । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको छ ।
ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गरिनेछ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार (यही वैशाख ८ गते) अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए । प्रधानमन्त्री कार्यालय बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरे । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्याली सहित सीता(रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ ।
पुरोहितहरुको सहभागिता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको बागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए । प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो ।

























