Breaking News

चितवनको इच्छाकामनाका साढे २ सय घरधुरीमा बल्यो बिजुली,स्थानीयबासी हर्षित

Banner

चितवन,बैशाख ६-

चितवनको इच्छाकामना गाँउपालिकाका करिब साढे २ सय घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो ।

जिल्लाको इच्छाकामना गाउँपालिका ५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे, ढुंग्रेसम्मका क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिनुभयो । ‘स्थानीयका लागि आवश्यक मिटर प्राधिकरणले उपलब्ध गराउनेछ, सिंहले विद्युतीकरण शुभारम्भ कार्यक्रममा भन्नुभयो, ‘सुरक्षित रहेर विद्युत् उपभोग गरौं र खपत बढाऊँ ।’ स्थानीयस्तरमा स्थापना गर्न सकिने कलकारखाना खोल्न आग्रह गर्दै सिंहले त्यसका लागि प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने बताउनुभयो । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतको सामुदायिक विद्युतीकरण विभागबाट ठेक्का भई विद्युतीकरण सम्पन्न भएको पनि सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीकरण गरिएको ठाउँमा १००/१०० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरिएको छ ।

मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको विद्युतीकरण शुभारम्भ कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोखरेलले गाँउपालिकामा यसै बर्ष विद्युतीकरणको काम सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो । उहाँले संघिय सरकार मार्फत १२ करोड रकम विनियोजन भएर इच्छाकामनामा विद्युतीकरणको काम संचालन भइरहेको बताउनुभयो । त्यसमध्य ६ करोड बराबरको काम सम्पन्न भइरहेको उहाँले जानकारी दिनुभयो । बाक्लो बस्ती भएका अधिकांस ठाँउमा विजुली बलिसकेको छ ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पालिकाले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले प्राधिकरणको प्रयासले बिजुली बाल्न सकिएको र यसले गाउँलेको जीवनपद्धतिमा परिवर्तन ल्याउने बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाको सामुदायिक क्षेत्रमा पर्ने २, ३ र ५ नम्बर वडामा विद्युतीकरण हुन बाँकी छ । २ नम्बर वडाको काउलेमा विद्युतीकरणका लागि ठेक्का भई काम भइरहेको सहकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार तोबाड, वडा नम्बर ७ को सिराइचुली, ज्यानडाला, चण्डीभञ्ज्याङको ताल्ची, तुल्चे लगायत क्षेत्रमा विद्युतीकरण हुन बाँकी छ । यस्तै, २ नम्बरका केही ठाउँ, ३ र ४ नम्बर वडा केही ठाँउमा पनि विद्युतीकरण हुन बाँकी छ । सो क्षेत्रमा पिछडिएको समुदाय चेपाङ तथा गुरुङ, मगरलगागत जातजातिको बासोबास रहेको छ । शुभारम्भ कार्यक्रममा विभिन्न राजनीतिक दलका गाउँ कमिटि अध्यक्षहरू तथा भरतपुर वितरण केन्द्रका प्राविधिकहरूको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>