Breaking News

दार्चुलाको नेपाली भूभागमा जान भारतसँग गुहार माग्नुपर्ने बाध्यता, १२ वर्षमा पनि बनेन सडक

Banner

दार्चुला, वैशाख ४-

आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पु¥याउने सपना वर्षौंअघिदेखिको हो । पञ्चायतकालीन मन्त्री स्व बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु तिंकर पुग्ने सपना देखेका थिए । उनले देखेको त्यो सपना घोरेटो बाटोसम्म मात्रै सीमित भयो । त्यो बेला गाडी मोटर नचले पनि नेपालकै भूमि भएर पैदल आवतजावत सहज थियो । भारतीय पर्यटक कैलाश मानसरोवर दर्शन गर्न नेपालकै घोरेटो बाटो भएर जाने गर्थे । यहाँका व्यापारी तिब्बतको सामान यही बाटोको सहायतामा विसं २०६० अघिसम्म ल्याउँथे ।

द्वन्द्वकालमा स्व ऐतवालले बनाएको त्यो सपनाको बाटो जीर्ण बन्दै गयो । बाटो मर्मत हुन सकेन । ततपश्चात् चीनको सीमा जोड्ने गरी तिंकर सडक निर्माण गर्ने भन्दै आर्थिक वर्ष २०६४÷६५ देखि तिंकर सडक योजना सुरु भयो । १२ वर्ष बित्यो तिंकर सडक सुरु भएको । यतिका वर्षसम्म १३० किलोमिटर सडक निर्माण गरेर व्यासको तिंकरसम्म गाडी मोटर चल्नुपर्ने हो तर गाडी मुस्किलले ४० किलोमिटरसम्म चल्दैछ ।

सडक निर्माणमै भएको ढिलाइले व्यासीले वर्षैपिच्छे आफ्नो गाउँ जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । बेलाबेला बाटो प्रयोगका लागि अनुमति माग्न हारगुहार माग्नुपर्छ । व्यासीको भारतीय जनजातिसँग बिहेबारीको मित्रता भएका कारण सहजरुपमा भारतीय भूमि प्रयोग गर्न पाएका छन् । भारतको उच्च अहोदामा सौका समुदायका व्यक्ति पुगेका छन् । उनीहरुकै सहजीकरणले व्यासीले आफ्नो गाउँ जान भारतीय बाटोको सहजता मिलेको छ । व्यासीले वडामा निवेदन, वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय दार्चुला र प्रशासनले भारतीय एसडीएम कार्यालयले स्वीकृत गरेपछि मात्रै उनीहरुको वैधानिकरुपमा भारतीय बाटोको प्रयोगका लागि अुनमति पाइन्छ ।

बेलाबेलामा भारतीय पक्षको हेपाहा प्रवृतिले पनि आफ्नै भूमि भएर जान बाटो घाटो छैन । नेपाल सरकारले आफ्नै भूमिको प्रयोग गर्ने गरी घोरेटो बाटो निर्माण गर्न भन्दै हरेक वर्ष करोडौँ बजेट खर्च गरे पनि बाटो कहिल्यै प्रयोगयोग्य हुँदैन । सबैभन्दा अप्ठ्यारो मानिएको घाँटीबगरमा गत वर्ष नेपाली सेनाले एक करोडभन्दा बढी खर्च गरेर घोरेटो बाटो निर्माण ग¥यो तर त्यो बाटो व्यासीहरुको घोडा खच्चड हिँड्नलायक नभएको स्थानीयवासी बताउँछन् । तम्बाकु भीरमा उस्तै अवस्था छ । अस्थायी बाटो बनाएर मान्छेलाई हिँडडुल गर्न बनेको छ ।

व्यासको बुदीसम्म बाटो ठाउँठाउँमा अप्ठ्यारो बनेको छ । प्रदेश सरकारले गत वर्ष मात्रै ३० लाख रुपैयाँ बढी खर्च गरेर बाटो मर्मत ग¥यो । त्यो बाटो झाडी फाँडेर बजेट सिध्याउने काम भएको स्थानीयवासी बताउँछन् । अनुगमनकारी निकायबाट बाटो कस्तो बन्यो भनेर हेरिँदैन स्थानीयवासी भन्छन् ।

यस वर्ष सडक विभागअन्तर्गतको डोलीडारले घोरेटोबाटो बनाउने भन्यो तर काम सुरु गरेको छैन । व्यासीहरुको बसाइँसराइ स्थानीय भाषामा (कुञ्चा) सर्न थालेको छ । छ महिना सदरमुकाम खलंगा चिसो छल्न आएका व्यासीहरु गर्मी बढ्न थालेपछि पुनः छाङ्गरु र तिंकर उक्लिन थालेका छन् । यस पटक पनि बाटो नहुँदा भारतकै बाटो भएर व्यास उक्लिनुपरेको स्थानीयवासी मुकेश बोहरा बताउँछन् । ‘हरेक वर्ष आफ्नै भूमि भएर बाटो राम्रो बनाइदेऊ भन्छौँ तर कसैले सुन्दैन’, उनले भने, ‘जब बसाइँसराइ हुन थाल्छ तब मात्रै कुरा उठ्छ ।’
गत वर्ष कोरोनाका कारण मुस्किलले भारतीय बाटोको प्रयोग गरेरै सौका समुदाय व्यास उक्लिएका थिए । यस पटक पनि कोरोना कहर सुरु हुँदैछ । छाङ्गरुका चार परिवार गत साता नेपालकै बाटो भएर छाङ्गरु गएका छन् । नेपालतिर बाटो नहुँदा जोखिम मोल्नुपरेको स्थानीयवासी दोर्जे लामा बताउँछन् । ‘नेपालकै बाटो भएर गाउँ जाँदा अर्जुन ऐतवालको एक झुपु बितेको छ, अहिले पनि आइतबारदेखि अधिकांश कुञ्चा सर्न सुरु हुन्छ’, व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘सदरमुकाम खलंगामा गर्मी बढ्न सुरु भएको छ, हामीहरुको बसाइँसराइ माथि उक्लिन सुरु भएको छ ।’

भारत र चीनको सीमा क्षेत्रमा बसोबास गर्ने यहाँका व्यासी सौका समुदाय हरेक वर्ष छ महिना सदरमुकाम खलंगा र छ महिना व्यासको छाङ्गरु तथा तिंकर बस्ने गर्छन् । गत मङ्सिरमा हिमपात हुन थालेपछि उनीहरु सदरमुकाम खलंगा झरेका थिए । व्यास उक्लिएपछि उनीहरु यार्सागुम्बा संकलन र खेतीपाती भित्र्याउने काममा व्यस्त हुन्छन् । यहाँका स्थानीयवासी सबै बस्तुभाउ, घोडाखच्चर र झुपुहरु लिएर व्यासका स्थानीयवासी आइतबारदेखि माथि उक्लिन सुरु हुन्छ ।

सदरमुकाम खलंगाबाट २८ कोष उत्तरमा हिमाली क्षेत्र तिंकर र छाङ्गरु पर्छ । नेपालको दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको व्यासको छाङगरु गाउँमा १२० तथा तिंकरमा ७० भन्दा बढी परिवारको बसोबास छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस पटक शुक्रबारसम्म व्यासको छाङ्गरु र तिकंर जानका लागि ४६१ जनाले अनुमति लिएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>