Breaking News
काठमाडौंसहित ठूला सहरमा विद्यालय कम्तीमा एक महिना बन्द गर्न सिफारिस

काठमाडौँ, चैत ३१-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालयहरू एक महिना बन्द गर्नका लागि सीसीएमसीमा प्रस्ताव गरेको जानकारी दिए ।
‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन् । यहाँ संक्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको हो । अहिलेको नयाँ भाइरस एकदम संक्रमणशील छ । त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिँदैन,’ उनले भने।
उनले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालिन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको बताए। विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सीसीएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन।
पछिल्लोसमय कोरोना भारइसको नयाँ भ्यारियन्ट फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो । नयाँ भ्यारियन्ट एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा परेको हो।
























