Breaking News

चितवनको रत्ननगरमा सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीयलाई समस्या

Banner

मनिका विश्वकर्मा

रत्ननगर, चैत २९ –

चितवनमा स्थानीय सरकार आएपछि निर्माण कार्यहरु धमाधमा हुँदै गइरहेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका पनि निर्माण कार्यहरु बढिरहेको छ ।

रत्ननगर नगरपालिकाको वडा नं १५ मा ७ वटा सडक निर्माण हुन लागेको छ । वडामा सडक कालोपत्रे गर्ने कामहरु एकदम ढिलासुस्ती भएको स्थानीय बासिन्दाहरु बताउँछन् । स्थानीय बासिन्दा लक्ष्मी वाईवा (नाम परिवर्तित) १५ नं वडामा बस्न थालेको ४३ वर्ष भयो । उनी आउँदा गोरेटो रहेको बाटो करिब ५० वर्षपछि कालो पत्र हुन लागेको हो ।

उनका अनुसार ९ मिटरको बाटो कालोपत्रको लागि स्थानीय बासिन्दाले धेरै आवाज उठाए । बल्लतल्ल कालोपत्र हुन लागेको बाटो डोजर लगाएको डेढ महिना भइसकेको उनले बताइन् । बाटोमा डोजर लगाएपछि झन् धेरै समस्या रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

बाटो सुख्खा हुँदा धुलैधुलो भएको उनीहरु भन्छन्, ‘हिजो मात्रै दुई÷तीन ट्याङ्की पानी बाटोमा हालेर दुई घण्टासम्म हिलो बनाइएको थियो । बाटो हिलो भएकोले हिँड्दा खेरी सबै कपडा फोहोर भएको छ ।’ रत्ननगर नगरपालिका–१५ मा सात वटा सडक निर्माण र कालोपत्रे हुन लागेका छन् । जसमा तीन वटा सडक कालोपत्रेको लागि उपभोक्ता समितिलाई जिम्मा दिइएको छ भने चार वटा मुख्य सडक कालो पत्रेको लागि टेन्डरलाई ठेक्का दिइएको छ ।

वडाको बजार नजिक पर्ने उक्त सडक रामजानकी टोलमा पर्छ । वडा अध्यक्ष हुमनाथ लामिछानेका अनुसार उपभोक्ताले छोटो बाटो र कम बजेटको सडकको काम गर्ने गर्छ । ठूलाठूला सडकको काम भने प्रदेश तथा नगरपालिकाले गर्ने लामिछानेले जानकारी दिए । उपभोक्ता समितिले जिम्मा लिएको सडक छिट्टै सक्काउने र जेठ महिना सडकको सबै काम सम्पन्न गर्ने उनले बताए ।

उपभोक्ता समितिले २० लाख रुपैयाँसम्म बजेट पर्ने निर्माण काम गर्ने र हाल तीन वटा सडक गरी ६० लाख रुपैयाँ बजेटको विनियोजनामा काम सम्पन्न गर्न लागिएको छ । उक्त सडक भने टेन्डरको जिम्मा भएकोले २० लाख रुपैयाँ भन्दा पनि बढी बजेट विनियोजन गरिएको उनले बताए । । त्यसकारण असार मसान्तसम्म टेन्डरको म्याद हुने भएकोले केही महिना अझै लाग्ने उनले बताएका छन् ।

हालसम्म वडामा एउटा मात्रै बाटोको काम सम्पन्न भएर कालो पत्रे गरिएको छ । उक्त बाटोबाट उत्तरी खण्डको खोलेसिमलदेखी १६ नम्बर जान सकिन्छ । रत्ननगर नगरपालिकाका योजना प्रमुख अर्जुन पङ्गेनीका अनुसार ठूलाठूला आयोजनाको काम उपभोक्ता समितिले गर्न नसक्ने भएकोले नै टेन्डरलाई ठेक्का दिएको हो ।

कामको प्रकृति र प्रक्रियाको लामो अवधिको कारण टेन्डरले गर्ने काम ढिला हुने उनको भनाइ छ । टेन्डरको जिम्मा लगाएका सडकका कामहरुको धेरै सम्झौता र मूल्याङ्कन हुने प्रमुख पङ्गेनीले बताए । निर्माण साम्रगीहरु पाउन नसकेपनि कामहरु ढिलासुस्त हुने उनले बताए । नगरपालिकामा सडक निर्माणको आगामी वर्षसम्म सम्पन्न गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>