Breaking News
सांसदबाट निलम्बित भएका चार मन्त्रीको पुनर्नियुक्ति, ५ बजे शपथ

काठमाडौं, चैत २७ –
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्री रहिरहन फेरि सपथ लिनुपर्ने भएको छ।
माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।
उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निष्कासन गरेपछि सांसद पनिबाट पदमुक्त हुने व्यवस्था छ ।
माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए । राष्ट्रपति कार्यालय शितल निवासमा पनि मन्त्रीहरूको सपथका लागि तयारी भएको छ ।


























