Breaking News
नेपाल पत्रकार महासंघको चुनाव आज, कसले मार्ला बाजी ?
चितवन,चैत २५ –
नेपाल पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुन लागेको हो । आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ। महासंघमा हाल १३ हजार १८० सदस्य रहेका छन्।
अध्यक्ष पदका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् । शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान छ ।
अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रंगशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ। केही शाखा र प्रतिष्ठानमा यसअघि नै सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आजमात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।केन्द्रीय समितिको ४९ पदका लागि १५२को उम्मेदवारी परेको छ।

























