Breaking News

२५ सय ऋण लिएर चितवन झरेका करनको कमाई मासिक २५ हजारभन्दामाथि

Banner

मनिका विश्वकर्मा,

भरतपुर, चैत २२ –

विसं २०७२ सालमा विनाशकारी भूकम्प आएको वर्षमा नै करन मन्डल चितवन आएका थिए । वीरगञ्जको प्रसौनीमा घर भएका उनी एसएलसीको परीक्षा सकाएर चितवन आएका हुन् । चितवनको भरतपुरमा काकाको घरमा आएको भोलिपल्ट नै उनले चितवन बाइक सर्भिस सेन्टरमा काम गर्न शुरु गरे ।

काकाको चिनजान भएको भएर उनले सजिलै ग्यारेजमा काम पाए । मलाई जागिर गरेसँगै पढाइलाई निरन्तरता दिने मन थियो । तर, भनेको जस्तो सजिलो भएन । उनले भने, ‘बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने हुन्थ्यो । मलाई पैसा कमाउनु पनि थियो । त्यसलै मैले पढाईलाई छोडेँ ।’

पढाइलाई निरन्तरता दिने मन हुँदाहुँदँै पनि उनले परीक्षा दिएपछि पढ्न सकेनन् । पढाइमा अब्बल र मेहेनती करनलाई साइन्स विषय पढेर टेक्निकल क्षेत्रतिर जाने मन थियो । घरका माइला छोरा हुन् करन । करनले वीरगञ्जको श्री नेपाली राष्ट्रिय माविबाट एसएलसी उत्तिर्ण गरेका हुन् । उनीसँग मोबाईल फोन नभएकोले कहिलेकाहीँ साथीकोबाट घरमा कुरा गर्थे ।

घरको आर्थिक अवस्था बलियो नभएको कारण उनले आफूलाई मन लागेको विषय लिएर पढ्न पाएनन् । उनी चितवन आउने बेला उनका दाजु पनि पढ्दै थिए । शुरुआती चरणमा ग्यारेजको काम नजान्दा अर्थात काम सिक्ने क्रममा धेरै गाली अनि धेरै काम गर्नुपर्दथ्यो करनले । करनले भने, ‘पछि काम सिक्दै गएपछि साहुहरुले पनि माया गर्न थाल्नुभयो । म त हिसाबकिताबमा पनि जान्ने भएकोले मलाई सहज हुँदै गयो काममा ।’

उनलाई ग्यारेजमा नै खान बस्ने व्यवस्था रहेको थियो । उनले ग्यारेजमा काम गरेको डेढ वर्षपछि तीन हजार ५०० रुपैयाँ तलब पाए । बिस्तारै उनले सात हजार रुपैयाँ तलब पाए । उनले काम पनि राम्रो गर्दै गएपछि १८ हजार रुपैयाँसम्म तलब पाए ।

उनका बाबाले दुई हजार ५०० सय रुपैयाँ सापटी खोजेर चितवन पठाएका थिए । अहिले करन २५ हजार रुपैयाँ तलब कमाउँछन् । काम जानेसँगै उनले साहुको टेन्डर सम्हालेका छन् । हप्ताको शनिबार बाहेक अरु दिन बिहानदेखि बेलुकासम्म टेन्डरमा नै स्टाफहरुसँग काममा खट्छन् । करनले टेन्डरमा काम गर्नको लागि ७ जना कर्मचारीहरु राखेका छन् । उनले कर्मचारीहरुलाई मासिक १४ हजार रुपैयाँसम्म तलब दिन्छन् ।

अहिले करन र उनका दाइ मिलेर वीरगञ्जमा नयाँ घर पनि बनाए । परिवारको अवस्था पनि पहिले भन्दा सुधार हुँदै गएको उनी बताउँछन् । करन पनि अहिले छुट्टै कोठाभाडामा बस्छन् । करण मन्डल चितवन झरेको पाँच वर्ष पूरा भयो । जागिरको लागि चितवन आएका उनको अहिले छुट्टै पहिचान बनेको छ । भरतपुरको होन्डा सोरुमभित्रै उनको टेन्डर अर्थात वर्कशप रहेको छ । दिनमा उनको टेन्डरमा ५० जनाभन्दा पनि बढी ग्राहकहरु बाइक, स्कुटी मर्मत सम्भार गर्न आउँछन् । उमेरले २३ वर्ष लागेका उनलाई अब पढ्ने मन भने नभएको बरु नेपालभित्रै ग्यारेज कम्पनि खोलेर बस्ने मन रहेको करन बताउँछन् ।

May be an image of 1 person, standing, motorcycle and outerwear

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>