Breaking News

चितवनमा आँखा समस्याका बिरामी बढ्दो, दैनिक एक हजार जनाको आँखा परीक्षण

Banner

मनिका विश्वकर्मा

चितवन, चैत २१

भरतपुर आँखा अस्पतालमा आएकी शिंखनकुमारी महतोको आँखा बिरामी भएको तीन वर्ष भयो । उनको दाहिने आँखाले नजिकको वस्तु मात्रै देख्छ, टाढाको वस्तु देख्न सक्दैन । जेठो छोरासँगै नवलपरासीबाट अस्पताल आएकी उनको आइतबार आँखाको अपरेसन रहेको छ । उनका छोरा धनबहादुर महतोले भने, ‘अस्पताल आएको चार दिन भइसक्यो । आमाको अपरेसनको लागि १४ हजार रुपैयाँ तिरिसकेको छ । अपरेसनपछि आमाले राम्रोसँग आँखा देख्नु हुनेछ भन्ने आश छ ।’ धेरै भीडभाडको कारण लाइन धेरै बस्नुपरेको महतोले बताए ।

यस्तै गोन्द्राङकी लक्ष्मी थापा मगरको पनि आँखा धमिलो, आशु आइराख्ने भएकोले भरतपुर आँखा अस्पताल जचाउँन आएकी हुन् । नातिसँग बिहान १० बजेदेखि अस्पताल आएकी थापामगरलाई रिपोर्ट लिनको लागि दिउँसो २ बजेपछि बोलाएको उनले बताइन् ।

यसैगरी खैरहनी नगरपालिकाका दुई दम्पतीहरु पनि आखाँको उपचारका लागि अस्पताल आएका छन् । उनीहरुको दुवै आँखाको अपरेसन गरेको दुई वर्ष पूरा भयो । आँखामा चिप्रा, आशु आउने भएकोले उनीहरुले आँखाको अपरेसन गरेका हुन् । आँखा अपरेसनपछि पनि उनीहरुको आँखामा समस्या आएर अस्पताल आएको बताएका छन् । आँखामा आशु आउने भएकोले उनीहरु अस्पताल आएका बताउँछन् ।
यस्तै भरतपुरको दिव्यनगरकी तीजा गुरुङको पनि गत पुस १० गते आँखाको अपरेसन गरिएको हो । टाढाको वस्तु नदेख्ने र नजिकको वस्तु मात्रै देख्ने भएकोले उनले आँखाको अपरेसन गरेको बताइन् । अस्पतालबाट दिइएको कालो चस्मा लगाएर आएकी तिजाले अपरेसनपछि टाढाको मान्छेहरुलाई थम्माउन सक्छिन् । उनको आँखामा फेरी समस्या आएकोले उनी अस्पताल आएकी हुन् ।

चितवनमा आँखा बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको छ । भरतपुर आँखा अस्पतालमा ओपीडीमा एक दिन हजार जनाले आँखा उपचार गर्न आएका छन् । गतवर्षसम्म यो संख्या ६०० को हाराहारीमा हुन्थ्यो । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले दिएको जानकारी अनुसार चितवनमा पहिलो पटक एकैदिन यसरी आँखा बिरामी बढेको हो । कोरोनापछि चितवनलगायत विभिन्न जिल्लामा आँखा बिरामी बढेको उनले बताएका छन् । लकडाउनको समयमा धेरै मानिसहरु अस्पताल आउन डराएकोले पनि अहिले परीक्षण गर्न आउनेको संख्या बढ्न गएको अस्पतालले जानकारी दिएको छ । जाडो महिनामा भन्दा गर्मी महिनामा आँखाका बिरामीहरु बढ्ने प्रवक्ता घिमिरेले बताए । हाल नेपालमा वन जंगलमा भएको डढेलोको कारणले प्रदुषण बढेको कारण आँखामा धेरै समस्या आएको घिमिरेले बताए । प्रदुषणले गर्दा आँखा पोल्ने, चिलाउने, दुख्ने जस्ता समस्याहरु देखा पर्ने उनको भनाइ छ ।

अस्पतालमा इमरजेन्सी सेवा भने नागरिकले पाउन सकेका छैनन् । भरतपुर महानगरपालिका–११ बसेनीका बिराज गुरुङले छोराको आँखामा साथीले हिर्काइदिएर अचानक राति आँखा अस्पतालको इमरजेन्सीमा लिएर गए तर अस्पतालको सुरक्षा गार्डले इमरजेन्सी सेवा चल्दैन भनेर गेटबाटै फर्काइदियो । उनले अस्पतालमा बिमा शुल्क बापत जम्मा १००० मात्र काट्ने गरी चर्काे मूल्यमा चस्मा बिक्री गर्दा गरिब नागरिकहरु मर्कामा पर्ने गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘बिमाअनुसार चश्मा लिन पाउने नै हो भने पूरै छुट गर्न नसक्नु अस्पतालको प्रशासनिक कमजोरी हो ।’ बिरामीको चाप बढेसँगै उपचारको गुणस्तरिता पनि खस्कँदै गएको सर्वसाधारणले गुनासो गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>