Breaking News
लोकतन्त्र जोगाइ राख्न ओली सरकारको विकल्प खोज्नुपर्छ: रामचन्द्र पौडेल

चितवन, चैत १९–
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अनिष्टको कालो बादल छाइरहेको बताएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको सातौं दिनको पूण्य तिथिमा आज (बिहीबार) देवघाटमा चितवन–तनहुँ जिल्ला कार्यसमिति काँग्रेसले आयोजना गरेको अस्तु विसर्जन तथा श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
लोकतन्त्र ल्याउन स्वर्गीय नविन्द्रराज जोशीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले अहिले उक्तव्यवस्थालाई सखापपार्न लागिएको बताए । ‘लोकतान्त्रिक प्रणाली ल्याउन उहाँले जीवनभर लड्नु भो’, उनले भने ‘अहिले लोकतान्त्रिक प्रणालीमाथि नै संकट आइरहेको छ ।’ लोकतान्त्रिक प्रणलीलाई जोगाउनु अब हामी सबैको कर्तव्य भएको उनले बताए । जोशी जस्तो निष्ठावान नेताको देशमा सँधै खाँचो भइरहने बताउँदै पौडेलले उनको अभाव कसरी परिपूर्ति होला भन्नेमा आफू चिन्तित रहेको बताए ।

अहिलेका शासकहरुले लोकतान्त्रिक आन्दोलनलाई खाडलमा हाल्न खोजीरहेको भन्दै उनले ओली सरकारप्रति लक्ष्ति गर्दै आरोप लगाएका थिए । देशमा लोकतन्त्र जोगाइ रहन अहिलेको सरकारको विकल्प खोज्नुपर्ने धारणा पौडेलले राखेका थिए । अहिलेको सरकारले लोकतन्त्रलाई मात्र नभइ नेपाली पहिचान र संस्कृतिलाई सखाप पार्न खोजिरहेको नेता पौडेलको आरोप थियो ।
जोशीको चैत १३ गते ५७ वर्षको उमेरमा मष्तिकघातका कारण नार्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । स्वर्गीय जोशीकी आमाको इच्छा पूरा गर्न देवघाटमा अस्तु विसर्जन गर्न आएको नेता पौडेलले बताए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोशीका परिवार, काँग्रेसका विभिन्न केन्द्रीय नेतालगायत तनहुँ, काँस्की, गुल्मी र नवलपुरका कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



























