Breaking News

चितवनमा सुर्ती तथा मदिरा बेचबिखनमा बालबालिकाको प्रयोग बढ्दो

Banner

मनिका विश्वकर्मा

चितवन, चैत १८–

प्रदुषणले गर्दा चितवनको आकाशमा न घाम न बादल न वर्षा । आकाश धुम्म र धुवाले भरिएको देखिन्छ । बिहानको साढे नौं बज्दै थियो । अञ्जली (नाम परिवर्तन) टिन टिन आवाज बजाउँदै साइकल चलाउँदै एउटा घरमा आइपुग्छिन् । अञ्जली भाइलाई साइकलमा राखेर एउटा सेतो बोत्तल लिएर उनीहरु त्यहाँ पुग्छन् । फागु पूर्णिमाको बेला हुन्छ । अञ्जली पनि गालामा रातो अबिर दलेर आफ्नो घरमा आएका पाहुनालाई लोकल रक्सी अर्थात भेली र चिनी मिसिएको रक्सी लिन त्यहाँ पुग्छिन् । तामाङको घरमा रक्सी पार्दै हुन्छन् । उनीहरुको पेसा नै रक्सी पार्ने हो । एक बोत्तल बराबर ५० रुपैयाँ उनीहरु लिन्छन् । अञ्जली पनि एक बोत्तल रक्सी लिएर घर फर्किन्छन् । बिदाको बेला भएकोले अञ्जलीको यो दिनमा घरमा नै रमाइलो गरेर बस्ने हुन्छ । अञ्जली भन्छिन्, ‘रक्सी लिन गए पैसा पाइन्छ । आफ्नै घरको लागि त हो । केही पनि हुँदैन ।’

कक्षा ८ मा पढ्ने अञ्जलीलाई रक्सी लिन जान हुन्न भन्ने पनि थाहा छ । उमेरले १४ वर्ष लागेकी उनी स्कुलकै पोशाकमा नै रक्सी लिन पुग्छिन् । पहिला त उनलाई यसरी रक्सी लिन जान लाज लाग्ने र मन नलाग्ने हुन्थ्यो । अहिले उनलाई बानी परिसकेको छ ।

त्यस्तै कक्षा चारमा पढ्ने कौशिला (नाम परिवर्तन) पनि हजुर आमा र आमाको लागि नजिकैको किराना पसलमा सुर्ती किन्न पुग्छिन् । उनलाई पनि सुर्ती किन्न जाँदा थप पैसा पाउने भएकोले नै किन्न गएको उनले बताइन् । उनी भन्छिन्र्, स्कुलमा यसरी किन्न जानु हुदैन भन्नुहुन्छ सरहरुले तर के गर्ने घरमा जाऊ भनेपछि जानै प¥यो नि ।’ कौशिला र अञ्जली दुवैको घर चितवनको रत्ननगरमा छ । उनीहरु बस्ने बस्तीमा जनजाति, दलित, व्राम्हण सबै जातजातिका मानिसहरु बसोबास गर्छन् । यहाँ बसोबास गर्ने केही तामाङ बस्तीहरु रक्सी पारेर नै बिहान बेलुकाको छाक टार्छन् ।

कौशिला र अञ्जली पनि एकै गाउँका हुन् । उनीहरु रक्सी लिन त जान्छन् तर अहिलेसम्म रक्सी भने नखाएको उनीहरुको बाबुआमा बताउँछन् । यस्तै सुसान्त (नाम परिवर्तन) पनि बेलुकाको समयमा हजुर बुबाको लागि लोकल रक्सी लिन जान्छन् । उनको घर रक्सी पार्ने घरभन्दा अलि टाढा नै छ । सुसान्तको घर खोला नजिकै रहेको छ । वर्षाको समयमा मात्रै खोलामा पानी हुने नत्र भने हुँदैन । फोहोरका थुप्राहरु खोलामा ल्याएर थुप्रा छन् केही गाउँका व्यक्तिहरु । त्यही खोला कटेर सुसान्त हजुरबुबालाई रक्सी किन्न पल्लो गाँउतिर लाग्छन् । उमेरले १० वर्ष लागेका सुसान्तलाई रक्सी खाए के हुन्छ भन्ने ज्ञान पनि छैन तर उनी हजुरबुबाको लागि दिनहँु रक्सी र चुरोट किन्न जानुपर्छ ।

लालुमाया (नाम परिवर्तन) भने रक्सी बेच्न आमालाई सघाउँछिन् । लालुमायालाई रक्सीको मूल्य के कति पर्छ भन्ने सबै जान्छिन् । उनी भन्छिन्, ‘मम्मी जंगल गएको बेला घरमा कोही नभएको बेला मैले नै रक्सी बेचिदिन्छु ।’ उनी पनि गाउँ नजिकैको सरकारी विद्यालयमा कक्षा ६ मा अध्ययन गर्छिन् ।

साना बालबालिकालाई यसरी मद्यपान, धुम्रपान बिक्री बितरण गर्नु कानुन विपरित हो । कानुन बमोजिम यसरी बालबालिकालाई रक्सी खरिद बिक्री गराउनु दण्दनीय हुन्छ । वागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका बाल अधिकारकर्मी बद्री वाग्लेका अनुसार १८ वर्ष मूनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ खरिद बिक्री गराउनु हुँदैन । यसो गर्नाले बालबालिकाको सर्वाङ्गिण विकासमा असर पु¥याउनुको साथै उनीहरुको सुर्तीजन्य पदार्थमा आकर्षण बढ्ने बालअधिकारकर्मी वाग्लेले जानकारी दिए । उनले बाल गृह, विद्यालयका सय मिटर भन्दा नजिक सुर्तीजन्य पदार्थ खरिद बिक्री गरे कारबाही हुने बताए । बालबालिकालाई सुर्तीजन्य पदार्थ खरिद बिक्री गर्न लगाए सामाजिक विकृतिहरु पनि पैदा हुने वाग्लेले बताए । बालबालिकालाई जसले गर्दा यस वस्तु प्रयोग गर्न मानसिकरुपमा उत्सुक हुने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>