Breaking News
मेघा बैँकको एटीएम मेशिन ह्याक गरी रकम झिक्ने एक चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, चैत १८-
काठमाडौँको विभिन्न ठाउँमा रहेका बैँकका एटीएमबाट अनधिकृतरुपमा रकम झिकेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्गको टोलीले मंगलबार काठमाडौंको ज्याठाबाट २९ वर्षीय चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।
ज्याठामा रहेको मेगा बैंकको एटीएम बुथभित्र पसेर मेशिन ह्याक गरी रकम झिक्न लाग्दै गर्दा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।
उनी केही समयदेखि ज्याठाको एक होटलमा कोठा लिइ बस्दै आएको खुलेको छ । होटलको चौथो तलामा रहेको उनी बस्ने ४०५ नम्बरको कोठामा खानतलासी गर्दा अन्य शंकास्पद सामग्रीसमेत फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
कोठाबाट विभिन्न किसिमका १० चाबीको झुप्पा, १० थान एटीएम कार्ड, ड्रिल मेसिन र त्यसमा प्रयोग हुने काटी लगायतका अन्य सामानसमेत फेला पारेको हो। यसअघि पनि चीनबाट नेपाल आएर बैँकको एटीएम ह्याक गरेर रकम झिकेको अभियोगमा चिनियाँ नागरिक पक्राउ पर्दै आएका छन्।
एक वर्षअघि मात्र काठमाडौँका विभिन्न स्थानका ९ वटा घरबाट साइबर अपराध गरेको अभियोगमा पक्राउ १२२ चिनियाँलाई पक्राउ गरी जनही एक हजार रुपैयाँ जरिवाना गरेर उनीहरूकै देश फिर्ता पठाइएको थियो ।
























