Breaking News
सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरु, जेलमा रहेकाहरुको मुद्दा फिर्ता गर्न माग

काठमाडौं, चैत १७-
सरकार र थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समितिबीच वार्ता सुरू भएको छ ।
समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र सरकारी वार्ता टोलीबीच गृह मन्त्रालयमा वार्ता सुरू भएको हो ।
चैत्र १६ गते सरकारले गृहमन्त्री थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा थापासहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी रहेका छन् ।
कल्याणकारी सभा, थारुहट÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली गठन गरेको छ ।
यस अगाडि माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट÷थारुवान् संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार गम्भीर रहेको बताएका थिए ।
आन्दोलनरत पक्षले टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका माग राखेका छन् ।
























